• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:12:55

२३०० परिवारको आउँदो दशैँतिहार अँध्यारोमै बित्ने

सन्दकपुर संवाददाता
इलाम, २३ असोज :
इलाम जिल्लाका दुईहजार तीनसय भन्दा बढी घरपरिवारले यसपालीको चाडवाडमा बत्ती बाल्न नपाउने भएका छन् । घरमा बिजुली बाल्ने आशमा महिनौँ अघिदेखि विद्युत प्राधिकरणसँग मिटर माग गरेपनि प्राधिकरणले मिटर नदिएपछि उनीहरूको यसपालीको दशैँतिहार अन्धकारमै बित्ने भएको हो ।
दशैँ तिहार अन्धकारमै बिताउनु परेपछि मिटर मागकर्ताहरू आक्रोसित बनेका छन् । फाकफोकथुम गाउँपालिका २ मा पर्ने फाकफोकबाट मिटर माग गर्नकै लागि बुधबार इलाम आइपुगेका दीपक तामाङले दशैँतिहारमा चाहिँ बत्ती बाल्न पाइने आश गरेपनि मिटर नपाइने बुझेको बताए । उनले एक महिनाअघि मिटर माग्दा पनि नपाउनु दुःखद् भएको सन्दकपुर दैनिकसँग गुनासो गरे ।
दीपकजस्तै सिङ्गल फेजको विद्युत मिटर माग गर्ने ब्यक्तिगत मागकर्ताको सङ्ख्या अहिले इलाममा दुई हजार तीनसय भन्दा बढी छन् । उनीहरुले दशैँतिहार अघि मिटर पाउने सम्भावना छैन । प्राधिकरणले गत भदौमा वितरण गरेको मिटरको सङ्ख्या हेर्दा दशैँतिहारअघि मिटर पाइहाले पनि एक दुई सय जनाले मात्र पाउने सम्भावना छ ।
प्राधिकरणको सदरमुकामस्थित इलाम वितरण केन्द्रको कार्यालयमा मात्र गएको साउन महिनासम्म मिटर पाउन नसकेका दरखास्तको सङ्ख्या दुई हजार १११ वटा थियो । भदौ महिनामा २३७ वटा दरखास्त थपिएकामा ४०९ लाई मिटर उपलब्ध गराइएको थियो । असोज लाग्दा यहाँमात्र एक हजार ९३९ वटा मिटर दिन बाँकी भएको केन्द्रको ग्राहक सेवा फाँटका सुपरभाइजर शङ्करसिंह कोइरीले सन्दकपुर दैनिकलाई जानकारी दिए ।
सदरमुकामबाहेक सूर्योदय नपाको फिक्कल र पशुपतिनगरमा रहेका प्राधिकरणका प्रशाखा कार्यालयहरूमा पनि मिटर पाउन बाँकी रहेका दरखास्तको चाङ ठूलै छ । फिक्कलमा ३५० वटा फाइल रहेको त्यहाँका प्रशाखा इञ्चार्ज रामकुमार देवानले बताए । त्यस्तै पशुपतिनगरमा २१ वटा दरखास्त रहेको त्यहाँकी कर्मचारी मालती श्रेष्ठले जानकारी दिइन् ।
फिक्कल प्रशाखा इञ्चार्ज देवानका अनुसार सदरमुकामको कार्यालयबाट स्वीकृत भएपछि मात्र मिटर प्राप्त हुने र त्यसपछि ग्राहकलाई वितरण गर्ने गरिन्छ । एक पटकमा बढीमा ३० वटासम्म मात्र मिटर वितरण हुने भएकाले अहिले भएका माग धान्न अभैm छ महिनाभन्दा बढी लाग्ने उनको भनाई थियो ।
मिटर माग गर्नेमा ब्यक्ति अर्थात् परिवारमात्र नभएर समुदाय र उद्योगीहरू पनि रहेका छन् । सदरमुकामको कार्यालयमा ब्यक्तिगतबाहेक २५ वटा सामुदायिक संघसंस्थाले मिटर माग गरेपनि उनीहरूलेसमेत नपाएको कोइरीको भनाई छ । त्यस्ता सामुदायिक मिटर मागकर्ताहरूमा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मन्दिर ब्यवस्थापन समिति जस्ता संस्थाहरू रहेका छन् ।
त्यसैगरि मिटर नपाउने उद्योगीहरूमा गाउँमा राइस मिल सञ्चालक समेत रहेको बुझिएको छ । सूर्योदय नगरपालिका १३ मा शङ्करीदेवी राईस मिल सञ्चालन गर्न मिल खरिद गरेर विद्युतको मिटर माग गरेका सञ्चालकले तीन महिना बितिसक्दा पनि मिटर नपाएको बताए । आपूmले सबैखाले कागजात पेश गरेको भएपनि मिटर दिन प्राधिकरणले आनाकानी गरेको दुखेसो पोखेका छन् ।
प्राधिकरणले नै तयार पारेको विद्युत वितरण विनियमावली, २०६९ का अनुसार ब्यक्तिगत घरमा जडान हुने मिटर अर्थात् सिङ्गल फेजबाट चल्ने मिटर माग भएमा त्यो तत्काल उपलब्ध गराउनु पर्नेछ । विद्युत लाइन बिस्तार भएको क्षेत्रका बासिन्दाले आवश्यक कागजात पु¥याएर त्यस्तो माग गर्दा तत्काल मिटर उपलब्ध गराइनु पर्ने हो । तर त्यस्ता मागलाई पनि बेवास्ता गर्दै प्राधिकरणको इलाम वितरण केन्द्रले महिनौँसम्म ग्राहकलाई कुराएर राख्ने गरेको छ ।
केन्द्र प्रमुख रविनबाबु घिमिरेले पनि सिङ्गल फेजको मिटर माग हुँदा तत्काल उपलब्ध गराउनुपर्ने भएपनि दिन नसकिएको स्वीकार गरेका छन् । उनको भनाई अनुसार प्राधिकरणको विराटनगरस्थित क्षेत्रीय निर्देशनालयमा मिटर जाँच गरेर इलाम ल्याउनै ढिलो भएको हुँदा माग गर्नेलाई दिन नसकिएको हो । उनले भने, ‘विराटनगरमा दैनिक तीन देखि चारसय मिटर जाँच गर्ने क्षमताको प्रविधि छ । त्यहाँबाट मिटर उपलब्ध गराउने जिल्ला धेरै छन् । त्यसैले जाँच भएर आएका मिटरले माग धान्न सकिएको छैन ।’
पहिलेको भन्दा मिटर धेरै सहज भएको, धेरै माग पुरा भएको भन्दै प्रमुख घिमिरेले आगामी दशैँ तिहारमा सबै नसकिए पनि धेरैले मिटर लान पाउने बताए । उनले अहिले गएको असारसम्म आएका दरखास्तलाई प्राथमिकताका आधारमा मिटर उपलब्ध गराइँदै आएको बताए ।

प्रतिकृया दिनुहोस