• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:59:48

गाउँभरिका पशु खोरेतले ग्रस्त, नियन्त्रणका लागि गाउँपालिकाको अभियान

अभियानअन्तर्गत गजुरमुखीधाम क्षेत्रका पशुमा खोप लगाउँदै माङ्सेबुङ गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकहरु । तस्विरः रोहितचन्द्र भट्टराई

रोहितचन्द्र भट्टराई,
भगीरथ भण्डारी
इलाम, २२ असोज :
 पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिकाका दुईवटा वडामा घरपालुवा पशुलाई खोरेत रोगले ग्रस्त बनाएको छ । झण्डै दुई हप्ता अघिदेखि देखा परेको खोरेत रोगले वडा नम्बर १ को गजुरमुखीधाम क्षेत्र र वडा नम्बर २ को साविक इभाङ गाविस १ मा दुईसय जति पशुमा प्रभाव देखाएको हो । 
शुरुमा स्थानीय एक कृषकको घरको दुईवटा गोरुमा देखिएको यो रोगले त्यसपछि गजुरमुखीधाम र इभाङका पशुलाई भेटेको हो । सो क्षेत्रका अधिकाँश कृषकका गोठमा बाँधिएका गाई, गोरु, बाछाबाछी र बाख्रामा खोरेत देखिएको छ । 
धेरैजसो पशुका खुट्टा (खुर)मा र मुखमा घाउ भएको छ । दुहुना पशुको थुनमा पनि घाउ भएको देखिएको छ । खोरेत लागेका गाईबाट दूध उत्पादन घटेको, गोरुले काम गर्न नसक्ने भएको कृषकहरूले बताएका छन् । रोग लागेपछि सबैखाले पशुले घाँस खान छाडेको र हिँडन तथा उभिन नसकेर पसारिन थालेको पनि कृषकको भनाई छ ।
गजुरमुखी धामका कृषक मित्रप्रसाद नेउपानेका अनुसार खोरेत देखिएपछि उनले पालेको गाईको दूध आउन नै छाड्यो । उनले भने, ‘पहिले दुई थुनबाट एक साँझमा तीन लिटर दूध दिने गाईले रोगले भेटेपछि दुई माना मात्र दिँदैछ । घाँस खाँदैन, दुब्लाउन थालेको छ ।’ उनले दूधे बाछोमा समेत मुखमा घाउ भएपछि माउको थुनमा सरेर थुनेलो हुन खोजेको बताए ।
धामकै शान्तिराम बुढाथोकीले पनि आप्mनो गोरुको खुट्टाको खुर नै उप्किएर झर्लाजस्तो देखिने गरि घाउ भएको बताए । उनले भने, ‘मुखमा पनि घाउ भएपछि न खान्छ, न उभिन सक्छ । दुब्लाएर मर्ला जस्तो भएको थियो ।’ हलका दुवै गोरुमा रोग देखिए पनि एउटालाई बढी सताएको उनको भनाई थियो । 
स्थानीय बासिन्दा र वडामा रहेका पशु प्राविधिकका अनुसार दशैँका लागि मासु प्रयोग गर्न झापातिरबाट केही राँगा गाउँमा ल्याइएपछि यो रोग देखा परेको हो । त्यसरी ल्याइएका राँगामा पनि रोग देखिएको उनीहरूको भनाई थियो । माङ्सेबुङका पशु प्राविधिक महेश राईले बाहिरबाट ल्याएका पशुबाट नै रोग सरेको बताए । उनले भने, ‘यही क्षेत्रमा दुई हप्ताअघि केही राँगा ल्याइए । त्यसपछि यहाँका पशुमा एफएमडी अर्थात् फुट एण्ड माउथ डिजिज (खुट्टा र मुखमा घाउ भएर शुरु हुने खोरेत रोग) देखा परेको हो ।’
खोरेत देखा परेपछि गाउँ कार्यपालिकाले एक हप्ता अघिदेखि खोरेत नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । कार्यपालिकाअन्तर्गत रहेका सबै पाँचजना पशु प्राविधिकहरूलाई खटाएर एक हप्ताअघिदेखि खोरेत देखा परेका क्षेत्रहरू गजुरमुखी धाम र इभाङको साविक वडा नम्बर १ मा पशुको उपचार भइरहेएको छ भने सो क्षेत्रलाई पाँच किलोमिटरसम्म घेरा लगाएर गजुरमुखीको दोभानदेखि इभाङको सातविसे, वालिङसम्मका पशुमा खोरेत नसरोस् भनेर खोप लगाइँदै छ । अभियानअन्तर्गत खोप लगाउने र उपचार गर्ने काम पनि अन्तिम चरणमा पुगेको र खोरेत नियन्त्रण हुँदै गरेको प्राविधिकहरूले बताएका छन् ।  
कृषकले पनि पशुहरू जाति भइरहेको बताए । शान्तिरामका अनुसार आपूmले केही महिनाअघि मात्र ४० हजार रुपैयाँमा खरिद गरेको गोरु झण्डै मरेको भएपनि गाउँपालिकाबाट सञ्चालन गरिएको अभियानमार्पmत नियमित उपचार भएपछि लगभग जाति हुने अवस्थामा पुगेको बताए । अहिले गोरुले उभिएर घाँस खाने गरेको उनको भनाई थियो । 
त्यस्तै मित्रप्रसादको गाई पनि निको हुँदै गएको छ । उनले अब गाई खतरामुक्त भएको भन्दै गाउँमा सबै पशुमा लागेको खोरेत निको हुँदै गएको बताए । प्राविधिक महेशका अनुसार दुई सय जति पशुमा रोग देखिएर उपचार गरियो भने दुई हजार भन्दा बढी पशुलाई रोग नलागोस् भनेर खोप लगाइयो । ‘त्यसपछि अहिले खोरेत नियन्त्रण जत्तिकै भएको छ, जाती हुँदै गरेका रोगी पशुको उपचार पनि भइरहेको छ ।’ 
शुरुमा रोग देखिएपछि विराटनगरस्थित क्षेत्रीय प्रयोगशालामा पशुको रगत लगेर परीक्षण गरी पशु चिकित्सक तथा प्रयोगशालाको प्रतिवेदनले खोरेत भएको निष्कर्ष निकालेपछि त्यहीँबाट औषधी र खोप ल्याएर अभियान थालिएको महेशले जानकारी दिए । अभियानका क्रममा पाँचजना पशु प्राविधिकले दुई तीन क्षेत्रमा खटिएर खोप लगाउने र उपचार गर्ने काम गरिएको उनको भनाई थियो ।
गाउँपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गोले पनि रोग देखिने बित्तिकै परीक्षण गर्दा खोरेत भन्ने पुष्टि भएपछि नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिएको बताए । उनका अनुसार तत्काल गाउँपालिकामा भएका सबै पशु प्राविधिकहरूलाई खटाएर योजनाबद्ध रुपमा अभियान सञ्चालन गरिएको हो । रोगग्रस्त क्षेत्रको वरिपरि सर्नसक्ने सम्भावित क्षेत्रमा पहिले खोप लगाइएको र त्यसपछि रोगी पशुलाई उपचार थालिएको उनको भनाई थियो । ‘अब रोग नियन्त्रणमा आइसक्यो’, प्रमुख इदिङ्गोले भने । गाउँपालिकामा रहेको विपद् नियन्त्रण कोषको रकमले अभियान सञ्चालन गरिएको र अभियान सफल भएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस