• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:59:13

प्राधिकरणकै कर्मचारीले विद्युत चोरे, १८ हजार जरिवाना

पुवाखोला आयोजनाको कार्यलय


सन्दकपुर डेस्क,
इलाम, १० असोज :
सर्बसाधारण ग्राहकको घरमा एक परिवारले चलाउने विद्युतको उठ्ने महसुलको तेब्बर भन्दा बढी युनिटबराबरको महसुल छुटमा विद्युत प्रयोग गर्न पाउँछन् नेपाल विद्युत प्राधिकरणका कर्मचारीले । तर त्यतिले पनि नपुगेर तिनै कर्मचारीले नै विद्युत चोरी गरेर प्रयोग गर्ने गरेको पाइएको छ । त्यो पनि इलाममै ।
इलामको पुवाखोला जलविद्युत केन्द्रमा काम गर्ने कार्यालयको क्वार्टरमै बस्ने कर्मचारीले विद्युत चोरी गरेर बाल्ने गरेका हुन् । गएको शुक्रबार प्राधिकरणको केन्द्र (राजधानी)बाटै खटिएको चुवाहट नियन्त्रण टोलीले त्यहाँका कर्मचारीले विद्युत चोरी गरेको फेला पारेको हो ।
इञ्जिनियर प्रदिप शर्मा र अधिकृत यादव नेपालसहित इलाम आइपुगेको चुहावट नियन्त्रण टोलीले पुवाखोला जलविद्युत केन्द्रमा शुक्रबार दिउँसो जाँच गर्दा त्यहाँका स्टोरकिपर रहेका विद्युतका ग्राहक रमेश रखाल मगरले विद्युत चोरी गरेर प्रयोग गरेको भेटिएको हो । मगरको ग्राहक नम्बर ००१(१८(१०० उल्लेख भएको मिटरबक्सको मिटर नचल्ने गरि डाइरेक्ट गरेर चुहावट गरेको पाइएको टोलीले जनाएको छ । 
मिटर नचल्ने गरि चुहावट गरिएको स्थानबाट क्वार्टरमै बस्दै आएका अर्का कर्मचारी कविन्द्र राईले पनि विद्युत प्रयोग गरेको पाइएको टोलीले सन्दकपुर दैनिकलाई जानकारी दिएको छ । विद्युत चोरी गरेको पाइएपछि ती कर्मचारीलाई विद्युत प्राधिकरणको नियमानुसार कारबाहीस्वरुप जरिवाना पनि गरिएको बुझिएको छ ।
विद्युत चोरी गरेर प्रयोग गरेवापत मगरले जरिवाना आठ हजार ५३३ रुपैयाँ, क्षतिपूर्ति आठ हजार ५३३ रुपैयाँ, रि कनेक्सन चार्ज ५०० रुपैयाँ, सिल चार्ज ६०० रुपैयाँ र मूल्य अभिबृद्धि कर १४३ रुपैयाँ गरि जम्मा १८ हजार ३०९ रुपैयाँ बुझाएका हुन् । उक्त रकम मगरले वितरण केन्द्र इलाममा बुझाएका हुन् ।
क्वार्टरमा बस्ने कर्मचारीले विद्युत चोरी गरेर जरिवाना तिरिसक्दासम्म केन्द्रका प्रमुखसहितका अन्य कर्मचारीले भने थाहै नपाएजस्तो गरेर ढाकछोपको प्रयत्न गरिरहेका छन् । 
कार्यालय प्रमुख, निमित्त प्रमुख, लेखापाल र इञ्जिनियर जस्ता माथिल्लो तहका कर्मचारीहरूले आपूmहरू कोही पनि नभएको बेलामा चेक गरेको भन्ने सुनेको तर केही फल्ट भेटिए, नभेटिएको थाहा नभएको बताएका छन् ।
त्यहाँका कर्मचारी धर्म पौडेलले उक्त दिन कार्यालय प्रमुख प्रल्हाद राउत कार्यालयमै नभएको, निमित्त प्रमुख भएका इञ्जिनियर दिलकुमार मानन्धर काठमाण्डौमा परीक्षा लेख्न गएको, लेखापाल र आपूm पनि कार्यालयमा नभएको बताए । बुधबार भने कार्यालय प्रमुखबाहेक अरु सबै कार्यालयमै भेटिएका थिए । उनीहरूलाई विद्युत चोरी काण्डबारे सोध्दा चेक गरेको भन्ने सुनेको बताएका हुन् । 
‘केही भएको रहेछ भने चेक गर्ने टोलीले काठमाण्डौ पुगेर खबर गर्ला अनि थाहा हुनेछ’, पौडेलले भने ।
प्राधिकरणमा काम गर्ने कर्मचारीलाई प्राधिकरणले नियमानुसार नै मासिक ७५ देखि १२५ युनिट सम्म विद्युत निःशुल्क खपत गर्न दिन्छ । कर्मचारीलाई बर्षाद्को समयमा १२५ युनिट र हिउँदमा ७५ युनिट विद्युत निःशुल्क दिने नियम छ । 
अहिले चोरी गरेको भेटिएका कर्मचारीले पनि यसरी निःशुल्क बिद्युत पाउँछन् । तर त्यसले पनि नपुगेर उनीहरूले चोरी गर्ने गरेका हुन् । प्राधिकरण स्रोतका अनुसार निःशुल्क विद्युत उपयोगबापत तिर्नुपर्ने आयकर छल्न चोरी गरेको हुन सक्छ । 
विद्युतका कर्मचारीले निःशुल्क प्रयोग गरेको युनिटको उठ्ने महसुल उनीहरूको आम्दानीमा देखाएर त्यसको १५ प्रतिशतले हुने आयकर कार्यालयले तलबबाट घटाइदिन्छ । विद्युत १२५ युनिट नै खपत गरेपनि त्यस्तो आयकर महिनामा दुई सय रुपैयाँको हाराहारीमात्र पुग्छ । त्यो पनि छलेर नतिर्नका लागि कर्मचारीले विद्युत चोरी गरेका हुन् । यसरी विद्युतका कर्मचारीले नै विद्युत चोरी गरेर प्रयोग गर्न थालेपछि सर्बसाधारणले के गर्ने ?

प्रतिकृया दिनुहोस