• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:58:39

फाकफोकथुममा जन्मदर्ता गरे तीनहजार, मृत्युदर्ता गरे पाँचहजार पाइने

सन्दकपुर संवाददाता
आमचोक, ४ असोज :
फाकफोकथुम गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । दोस्रो गाउँसभाले नवजात शिशुको जन्मदर्ता र अन्य कसैको मृत्यु भएमा मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको हो । 
    व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए । 
    गाउँपालिकाले ब्यक्तिगत घटनाअन्तर्गत प्रसुति स्याहार भत्ता तीन हजार रुपैयाँ र मृतक परिवारलाई पाँच हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको हो । जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रिया समेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको हो, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सन्दकपुर दैनिकसँग भने, ‘यो प्रक्रिया चालु आवदेखि लागू भएको छ ।’
    यस्तैगरी बिरामी र दीर्घ रोगीहरूलाई पनि गाउँपालिकाले उपचार खर्च प्रदान गर्ने भएको छ । क्यान्सर रोगी, मृगौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर तथा ब्रेन ह्यामरेज, प्यारालाइसिस भई हिँड्डुल गर्न नसक्ने, दुर्घटनामा परी अंगभंग भएका तथा आगलागीमा परि अपांगता भएका व्यक्तिलाई वार्षिक २० हजार रुपैयाँ र अन्य दीर्घरोगीहरूलाई वार्षिक पाँच हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने बताइएको छ । 
    सम्वन्धित वडाको सिफारिसका आधारमा प्रोत्साहन रकम तथा उपचार खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गरेको यो निर्णयप्रति फाकफोकथुमबासी हर्षित भएको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस