• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:59:27

मिटर नचलेको भन्दै १५ लाख तिर्न प्राधिकरणको पत्र, ग्राहकको ढाड सेक्दै प्राधिकरण

सन्दकपुर डेस्क
इलाम, १ असोज :
नियमित विद्युत महसुल बुझाइरहेको इलामको एक ग्राहकका नाममा १४ लाख ८५ हजार रुपैयाँ वक्यौता तिर्न भनेर नेपाल विद्युत प्राधिकरणले साउनको अन्तिम साता ३५ दिने पत्र काटेको छ । यो सन्दर्भले प्राधिकरणले कसरी ग्राहकको ढाड सेक्ने गर्छ भन्ने प्रष्ट्याएको छ ।
सन्दर्भ हो, इलामको सूर्योदय नगरपालिका ६ को तारगाउँमा रहेको एक चिया कारखानालाई प्राधिकरणले काटेको पत्रको । २०६९ सालमा स्थापित तारगाउँ टि स्टेट प्रालिले शुरुदेखि गएको साउन महिनासम्मको विद्युत महसुल नियमित रुपमा तिरिरहेको छ । तर पनि प्राधिकरणले अहिले बक्यौता रहेको भन्दै पत्र काटेको छ ।
कारखानामा १६० किलो भोल्ट एम्पीयर (केभीए)को ट्रान्स्फर्मर राखेर शुरुदेखि विद्युत प्रयोग गरिरहेको छ । उक्त विद्युत प्रयोगका लागि शुरुमा राखिएको टाइम अफ डे (टीओडी) मिटर २०७३ सालको मङ्सिरमा चट्याङ पर्दा बिग्रिएपछि प्राधिकरणमा जानकारी गराएर प्राधिकरणकै सल्लाहमा त्यसपछि सीटी मिटर राखिएको छ । दुवै मिटर सञ्चालन अवधिको पुरा महिनाको महसुल पनि नियमित रुपमा छुट सुविधासमेत उपयोग गरेर कारखानाले तिरिरहेको छ ।
त्यतिबेला बिग्रिएको कारखानाको टीओडी मिटर प्राधिकरणका कर्मचारीले लिएर गएका थिए । उनीहरुले उक्त मिटर लगेको दुई वर्ष पुग्न लाग्दा यतिबेला आएर प्राधिकरणले सो मिटरमा उठ्नुपर्ने जति शुल्क नउठेकोले थप रकम तिर्नु पर्ने भनेर तारगाउँ टी स्टेटलाई पत्राचार गरेको हो । मिटर बिग्रिएर प्राधिकरणले लगेको झण्डै दुई वर्षपछि मात्र करिब १५ लाख रुपैयाँ बक्यौता तिर्न चिठ्ठी पठाएपछि कारखाना सञ्चालकहरु तीन छक्क परेका छन् ।
टी स्टेटका सञ्चालक उत्तम श्रेष्ठका अनुसार महिनै पिच्छे महसुल तिर्दै आएपनि मिटर बिग्रिएको दुई वर्षमा बक्यौता तिर्न चिठ्ठी आएको हो । कर्मचारीले मिटर लिएर गएपछि आपूmहरुलाई ‘के भयो ? के गरियो ?’ भन्ने कुनै कुरा थाहै नदिई एकैपटक बक्यौताको चिठ्ठी आएको खबर मात्र दिएको उनले बताए ।
श्रेष्ठले भनेअनुसारको यो पत्रले प्राधिकरणले नै बनाएको आप्mनै नियमबिपरित तारगाउँ टी स्टेटलाई बक्यौताको नाममा अकुत रकम असुल्न खोजिएको बुझिएको छ । प्राधिकरणको विद्युत वितरण विनियमावली, २०६९ मा भएको ब्यवस्थाविपरित तारगाउँलाई पत्र काटिएको प्रष्ट छ ।
विनियमावलीको विनियम १८ मा ‘२०० केभीएभन्दा कम क्षमताको सी.टी. वा पीटी जडान हुने मिटर जडान गर्दा अनिवार्य रुपमा कमिशनिङ रिपोर्ट तयार गरी पेश गर्नुका सार्थ प्रत्येक ६÷६ महिनामा सिटी जडान भएको मिटरको निरीक्षण गरी प्रतिवेदन दिनुपर्ने’ उल्लेख छ । विनियम १८ मै ‘तोकिएको समयभित्र सी.टी.÷पी.टी. मिटर निरीक्षण नभएमा सोबाट हुन सक्ने हानी नोक्सानीको दायित्व सम्बन्धित कार्यालय प्रमुख, मिटिर रिडिङ्ग तथा निरीक्षण गर्ने ईन्जिनियर र लेखा प्रमुखको हुनेछ’ भन्ने कुरा उल्लेख गरिएको छ ।
तर, तारगाउँ टी स्टेटमा जोडिएको मिटरको निरीक्षण गरि प्रतिवेदन दिनु त के, मिटर रिडिङ गर्नसम्म प्राधिकरणका कर्मचारी पुगेका छैनन् । कारखानाका अनुसार स्थापना कालदेखि अहिलेसम्म गएको साउन र भदौ महिनामा मात्र मिटर रिडिङ गर्न विद्युतका कर्मचारी कारखानामा पुगेका छन् । त्यो भनेको कारखानालाई प्राधिकरणले पत्र काटेपछि मात्रै हो । त्यसअघि कहिल्यै पनि मिटर रिडिङ गर्न प्राधिकरणका कर्मचारी पुगेका छैनन् । 
कारखानाकै कर्मचारीले मिटर पढेर र त्यसको भिडियो खिचेर प्राधिकरणको फिक्कलस्थित कार्यालयलाई जानकारी गराएपछि यति रकम उठ्यो भन्दै कर्मचारीले भन्थे । कारखाना स्थापना भएदेखि नै यस्तै मात्र भइरहेको कारखानाका कर्मचारी तथा मजुदरहरुले सन्दकपुर दैनिकलाई बताए । ‘हामीले जानकारी गराएपछि जति उठेको छ भन्नुहुन्छ, त्यति रकम लिएर सधैँ तिर्न जाने गरेका छौँ । वहाँहरु आएको दुई पटक मात्रै हो ।’, कारखानाका लेखा हेर्ने कर्मचारी संरक्षण तिम्सिनाले बताए । 
२०७३ साल मङ्सिरमा चट्याङ लागेर मिटर बिग्रिएपछि कारखानामा विद्युत सप्लाई नभएर प्राधिकरणलाई जानकारी गराइएको कारखानाले जनाएको छ । ‘त्यतिबेला प्राधिकरणका कर्मचारी आएर मिटर अर्को जडान गर्नुपर्छ, यो हामी लिएर जान्छौँ भनेर लगेका थिए । त्यसबेलादेखि अहिलेसम्म कारखानामा त्यो मिटरको बारेमा कुनै जानकारी नै थिएन, एक्कासी अहिले आएर यत्रो रकम बक्यौता भयो भनेर चिठी आएको छ भन्ने खबर छ ।’ श्रेष्ठले भने । त्यसपछि अर्को मिटर खरिद गरेर तत्काल जडान गरिएको उनको भनाई थियो ।
मिटर बिग्रिनुभन्दा अगाडि र पछाडि कहिल्यै पनि प्राधिकरणका कर्मचारी मिटर रिडिङ तथा निरीक्षणका लागि कहिल्यै नआएको र निरीक्षण गरेर प्रतिवेदन बुझाएको पनि आपूmलाई थाहै नभएको उनले बताए । ‘६÷६ महिनामा निरीक्षण गर्ने भनेर निरीक्षण नगर्ने, अनि अहिले आएर आपूmहरुलाई यत्रो रकम तिराउन पत्र काट्ने’ भन्दै श्रेष्ठले असन्तुष्टि ब्यक्त गरे । उनले मिटर शुरुदेखि बिग्रिएको भएपनि प्राधिकरणले चेक गरेर राख्नु पथ्र्यो भन्दै नियमानुसार निरीक्षण गरिएको भए कहिले बिग्रियो के भयो भन्ने थाहा हुने र छोटो समयको मात्रै रकम बुझाउनु पर्ने भएपनि प्राधिकरणको लापरबाहीले धेरै बक्यौता देखाइएको बताए । 
प्राधिकरणले भने तारगाउँ टी स्टेटले बक्यौता रकम तिर्नैपर्ने जनाएको छ । प्राधिकरणको इलाम वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले लामो समयदेखि मिटर बिग्रिएर उठ्नुपर्ने जति रकम नउठेको पाइएकोले उक्त रकम बक्यौदा देखिएको बताएका हुन् । ६÷६ महिनामा किन निरीक्षण भएन ? भन्ने प्रश्नमा उनी अन्कनाए । नियममा भएपनि विभिन्न कारणले निरीक्षण हुन नसकेको उनको भनाई थियो । कर्मचारी अभाव, कारखाना भएको स्थान दुर्गम र निरीक्षण गर्ने प्राविधिकको पनि अभावका कारण निरीक्षण नभएको उनले बताए । यता टी स्टेटका सञ्चालक श्रेष्ठले भने आपूmहरु त्यो रकम तिर्न नसक्ने भन्दै प्राधिकरणबिरुद्ध मुद्दा हाल्न तयार भएको बताएका छन् । 
 

प्रतिकृया दिनुहोस