• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:28:08

इलामका पाँच जना विद्यार्थीलाई पूर्ण स्मृति र इशा कार्की स्मृति पुरस्कार


सन्दकपुर संवाददाता
इलाम, २८ भदौ : इलाममा विभिन्न विद्यालयमा अध्ययन गरि गएको शैक्षिक वर्षमा एसईई उत्तीर्ण गरेका पाँच जना विद्यार्थी र एउटा सेवामूलक संस्थालाई बुधबार सदरमुकाममा पुरस्कृत गरिएको छ । इलामको ज्योति विद्या मन्दिरले आयोजना गरेको कार्यक्रममा ती विद्यार्थी र संस्था दुईवटा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

ज्योति विद्या मन्दिरका संस्थापक स्वर्गीय पूर्णकुमार श्रेष्ठको स्मृतिमा विद्यालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको पूर्ण स्मृति पुरस्कार र ज्योति विद्यामै अध्ययन गरेर एसएलसी उत्तीर्ण गरेकी साविक इलाम नगरपालिका ४ की स्वर्गीय इशा कार्कीको नाममा उनका परिवारले स्थापना गरेको इशा कार्की स्मृति पुरस्कार वितरण गरिएको हो । 

कार्यक्रममा पूर्ण स्मृति पुरस्कारबाट एक संस्था र तीनजना विद्यार्थीलाई पुरस्कृत गरियो । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलको बन्दी सहायता समूह नामको संस्थालाई नगद १० हजार रुपैयाँ राशीसहितको पूर्ण स्मृति पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार संस्थाका स्वयम्सेवक विजय वाइवालाई हस्तान्तरण गरियो ।
त्यसैगरि गत वर्ष इलाममा एसईईमा सर्बोत्कृष्ट हुने आकृति भट्टराई र पल्पसा राईलाई पनि जनहि तीन हजार पाँचसय रुपैयाँ राशीको पूर्ण स्मृति पुरस्कार प्रदान गरियो । उनीहरुका अभिभावकले पुरस्कार ग्रहण गरेका थिए । पूर्ण स्मृतिबाटै ज्योति विद्या मन्दिरमै अध्ययन गरेर सर्बोत्कृष्ट नतिजा हासिल गर्ने जनक कार्कीलाई पुरस्कृत गरियो ।

यता इशा कार्की स्मृति पुरस्कारले इलाममा सर्बोत्कृष्ट नतिजा ल्याउने आकृति र पल्पसा, ज्योति विद्याबाटै उत्कृष्ट हुने जनक र सुमिना शेर्मा तथा इशाको जन्मगाउँस्थित विद्यालय भगवती माविबाट गत वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने मन्दिरा विकलाई पुरस्कृत गरियो । जनही पाँच हजार रुपैयाँ राशी रहेको सो पुरस्कार इशाका बुबा चक्र कार्कीले विद्यार्थी तथा अभिभावकलाई हस्तान्तरण गरेका थिए ।
स्व श्रेष्ठको स्मृतिमा विद्यालयले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा शिक्षक गणेश खतिवडाले स्वागत मन्तब्य राखेका थिए । स्व श्रेष्ठकी श्रीमती पुष्पा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेष्ठकै दाई, भाउजुसहितका परिवारका सदस्य एवम्, पुरस्कार समितिका सदस्य सचिव रविन श्रेष्ठ, पुरस्कृत संस्थाका तर्पmबाट वाइवा, भगवती माविका प्रधानाध्यापक डोरकुमार पौड्याल, ग्रीन भ्याली एकाडेमीका प्रधानाध्यापक राजन माईकल गुरूङ, ज्योति विद्याकै सञ्चालक सिनेट श्रेष्ठ तथा पत्रकार रोहितचन्द्र भट्राईसमेतले पुरस्कृतलाई बधाई सहितको शुभकामना मन्तब्य राखेका थिए ।
अङ्ग्रेजी शिक्षकको रुपमा सामुदायिक विद्यालयमा समेत काम गरेका पूर्णकुमार श्रेष्ठको २०६३ सालमा मृत्यु भएको थियो । त्यस्तै २०५० सालमा जन्मिएकी इशा कार्कीको २०७१ साल कात्तिक १४ गते चितवनमा भएको बस दुर्घटनामा मृत्यु भएको थियो । उनले २०६७ सालमा ज्योति विद्याबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।
 

प्रतिकृया दिनुहोस