• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:29:57

इलाममा पैसा नबुझाउनेका धारा ‘चट्’

सन्दकपुर डेस्क
इलाम, २७ भदौ
:
इलाम नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने उपभोक्ताको धारा काटिदिएको छ । गएको हप्तादेखि महसुल नबुझाउने विद्यालय, संघसंस्था, चिया कमान र ब्यक्तिगत उपभोक्ताको गरि ३९ वटा धारा काटेको जनाएको छ ।
महसुल नबुझाउनेमा कतिपयले धारा जडान भएदेखिको महसुल बुझाएका छैनन् भने कतिपयले १० वर्ष यताको महसुल बुझाएका छैनन् । केही उपभोक्ताले भने एक वर्षको महसुल नबुझाएको पाइएको छ । महसुल नबुझाउनेमा दुईवटा धारा जडान भएको इलाम चिया कमान पनि रहेको छ । इलाम चिया कमानले १० वर्ष अघिदेखिको अर्थात् २०६६ साल कात्तिक देखिको दुवै धाराको महसुल बुझाएको छैन । कमानको दुवै धारा काटिएको छ ।
त्यसैगरी महसुल नबुझाउनेमा समता शिक्षा निकेतन पनि रहेको छ । समताले सात वर्षयताको महसुल बुझाउन बाँकी रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । समताको पनि धारा काटिएको छ ।
यता आदर्श (उ)माविको बजारमा रहेको पुरानो भवन (पहिले प्रज्ञा सदन बसेको)को धारा पनि नगर कार्यापालिकाले मंगलबार काटिदिएको छ । सो धाराको महसुल आदर्शले २०७० सालदेखि बुझाएको छैन । त्यसैगरि कुम्भीटार प्राविले पनि २०६९ सालदेखि महसुल नबुझाएपछि उसको पनि धारा काटिएको छ । 
नेपाल पत्रकार महासंघ इलाम शाखाको कार्यालयमा जोडिएको खानेपानी लाइन पनि काटिएको छ । महासंघले भवन निर्माण गरेर जडान गरेदेखि नै हालसम्मको महसुल नगरपालिकालाई नबुझाएपछि धारा काटिएको जनाइएको छ । 
महसुल नतिरेर धारा काटिएका ब्यक्तिगत ग्राहकहरुमा इनपा ८ का ललितबहादुर खड्का, रुपमान तामाङ, शारदा श्रेष्ठ, बन्दना रुपाखेती, पदममाया राई, सावित्रामाया खड्गी, शेरबहादुर श्रेष्ठ र जसबहादुर राई छन् । इनपा ७ का महेन्द्रकुमार श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शुक्र विश्वकर्मा, पूर्णकुमारी देवान, खोमबहादुर गुरुङ, विष्णुबहादुर अधिकारी र चन्द्रप्रसाद निरौलाको धारा पनि महसुल नबुझाएकै कारण काटिएको छ ।
यता इनपा ६ का टंकबहादुर बस्नेत, हर्कप्रसाद भट्टराई, देउमाया सुनुवार र छंकमाया तामाङ्नीको धारा काटिएको छ भने इनपा ९ का मानबहादुर बम्जन, डम्बर नेपाल, चन्द्रकला श्रेष्ठ, विष्णुमाया चौहान, भिमबहादुर कार्की, प्रजय रिजाल र ज्ञानबहादुर मुग्रातीको धारा पनि महसुल नबुझाएकै कारण काटिएको छ । इनपा ९ कै सूर्यबहादुर मोक्तान, डिल्लीबहादुर चौहान, रत्नमाया सार्की र रुष्मा राईको समेत धारा काटिएको छ ।
धारा काटिएका उपभोक्ताले बक्यौता रकम र हर्जना बुझाएर थप १० हजार रुपैयाँ बुझाएपछि मात्र धारा जोडिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले तयार गरेको इलाम नगरपालिका, आर्थिक ब्यवस्थापन ऐन, २०७५ को अनुसुची ९ ले धारा काटिएका उपभोक्ताको लाइन चालु गर्न थप १० हजार रुपैयाँ लाग्ने ब्यवस्था गरेको छ । न्यूनतम् महसुलको हर्जना मासिक ९० रुपैयाँ लाग्ने पनि जनाइएको छ ।
नगर कार्यपालिकाले लामो समयदेखि महसुल नबुझाउने ग्राहकलाई पटक पटक सूचना गरेर महसुल बुझाउन आग्रह गरिएको, सञ्चारमाध्यमबाट पनि उपभोक्ताको नामसहित सूचना गरिएको भएपनि नबुझाएपछि धारा काटिएको जनाएको छ । कार्यालयका सब–इञ्जिनियर मेघनाथ ढुङ्गानाले भने, ‘लामो समयदेखि महसुल नबुझाएका ४३ जना ग्राहकको नाममा पत्रिकामा पनि सूचना निस्किएको हो । तीमध्ये चार जना ग्राहकको बक्यौता प्राप्त भयो, अरुको लाइन काटिएको हो ।’

प्रतिकृया दिनुहोस