• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:30:24

सम्पादकीय : संस्कृतिको संरक्षणका लागि सबैको पहल आवश्यक

सन्दकपुर दैनिक (२०७५।०५।२६)
यतिबेला चाडबाढको सिजन हो । चाडवाढले छोपेको छ अहिले । गएको साउन ३१ गते श्रावण शुक्ल षष्ठीका दिन नाग पञ्चमी थियो । त्यस दिनदेखि हिँउद लागेको मानिन्छ । सोही दिनबाट चाडवाढका दिनपनि शुरु भएका हुन् । नागपञ्चमी पछि श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमा अर्थात रक्षा बन्धन हामीले मनाइसकेका छौँ । त्यसैगरि भदौ कृष्ण प्रतिपदाका दिन गाईजात्रा, भदौ कृष्ण सप्तमीका दिन श्रीकृष्ण जन्माष्टमी, त्यसको भोलीपल्ट गौरा पर्व, भदौ कृष्ण एकादशीका दिन अजा एकादशी र भदौ कृष्ण औँशीका दिन कुशे औँशी जस्ता पर्वहरु हामीले मनाइसकेका छौँ । 
कृष्ण औँशीकै दिन बुबाको मुख हेर्ने दिन पनि सम्पन्न भइसकेको छ । अबका दिनहरुमा आज हरितालिका तीज, ऋषि पञ्चमी, विश्वकर्मा पूजा, हरिपरिवर्तनी एकादशी, इन्द्रजात्रा आउँदैछन् । त्यसपछि सोह« श्राद्ध चल्छ असोज कृष्णपक्षभर । 
असोजकै शुक्ल पक्षमा नौरथा रहन्छ । सो चाड आजको एक महिनापछि अर्थात असोज २४ गते घटस्थापनाबाट प्रारम्भ हुन्छ । यसैगरि तिहार आउँछ । 
यसरी चाडको सिजन शुरु भएको छ । यो सिजनमा आउने चाडहरुमध्ये कतिपय चाडहरु हामी भब्यताका साथ मनाउने गर्दछौँ भने कतिपय चाडहरुमा हामी चासो सम्म पनि लिँदैनौँ । दशैँ, तिहार, तिज जस्ता चाडवाडमा चाहिनेभन्दा बढी देखावटी खर्चहरु पनि गरिरहेका हुन्छौँ हामी । तर कुशे औँशी, नाग पञ्चमी, जनै पूर्णिमा, बाबुको मुख हेर्ने दिन जस्ता चाडलाई हामी बिर्सिएजस्तै गर्छौँ ।
हामीले हाम्रो संस्कृतिको संरक्षण गर्न यस्ता चाडपर्वलाई दीगो रुपमा राख्न चाडका दिनमात्रै भएपनि मनाउन जरुरी छ । यस्तै चाडको संरक्षण र संवद्र्धनका लागि इलाम सदरमुकामको माउण्ट मेची माध्यमिक विद्यालयले आइतबार बाबुको मुख हेर्ने दिनलाई विद्यालयमा मनाएको छ । त्यो विद्यालयले सबै विद्यार्थीका बाबुहरुलाई विद्यालयमा बोलाएर विद्यार्थी र विद्यालयबीच बाबु र बच्चाको सम्बन्ध र जिम्मेवारीको बोध गराउने जमर्को पनि गरेको छ ।
हामीले यसको सिको गर्नुपर्छ । समाजमा बिर्सिइँदै गएका र लोप हुन लागेका चाडपर्वहरुलाई माउण्ट मेचीले जस्तै संरक्षणको प्रयास सबै निकाय र ब्यक्तिले गर्नसके हाम्रा चाडपर्वहरु लोप हुनबाट बच्नेछन् । सबैले संस्कृतिको संरक्षणका लागि पहल गरौँ । 

प्रतिकृया दिनुहोस