• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:30:22

इलाममा उन्नत गाईको सङ्ख्या सवालाख

 सन्दकपुर संवाददाता,इलाम, २४ भदौ : दूध उत्पादनको हिसाबले अग्रणी जिल्लाको रुपमा चिनिएको इलाममा यतिबेला उन्नत जातका गाईको सङ्ख्या एक लाख १४ हजारभन्दा बढी रहेको पाइएको छ । गत आर्थिक वर्षमा विराटनगरस्थित क्षेत्रीय पशु सेवा निर्देशनालयले निकालेको तथ्याङ्कअनुसार इलाममा उन्नत गाईको सङ्ख्या एक लाख १४ हजार ६१५ रहेको छ ।
दूध र दुग्धजन्य उत्पादनमा चर्चा कमाउँदै गएको इलाममा बर्षेनी उन्नत गाईको सङ्ख्या बढ्दै गएको, ब्यवसायिक गाईपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको पाइएको छ । इलामबाट दूध दिनहुँ एक लाख लिटरको हाराहारीमा निकासी हुने गरेको छ । दुग्ध विकास संस्थान र अन्य निजी दुग्ध उद्योगहरुले दिनहुँ इलामको दूध खपत र निकासीमा सहयोग पु¥याइरहेका छन् । निर्देशनालयको तथ्याङ्कले इलाममा स्थानीय जातका गाईको सङ्ख्या पनि ३६ हजार ४६० रहेको जनाएको छ । यसरी हेर्दा इलाममा दूधालु गाईको सङ्ख्या यतिबेला डेढ लाखभन्दा बढी रहेको छ । सरकारले गाईको बीमा गरिदिने गरेको र बीमा गरिएका गाईबस्तुको मृत्यु भएमा वा बिरामी परेर उपचार खर्च लागेमा बिमित पशुधनको रकम पाइने भएपछि पनि कृषकले उत्साहित र ब्यवसायिक बनेर गाईपालन गर्ने गरेका छन् ।
इलाममा दूध उत्पादनका लागि भैँसी पनि कृषकले पाल्ने गरेका छन् । 
त्यस्ता भैँसी यसवर्ष इलाममा २३ हजार ९३ वटा रहेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । तीमध्ये उन्नत जातका भैँसी ११ हजार ४३० वटा छन् भने स्थानीय जातका भैँसी ११ हजार ६६३ वटा छन् ।
निर्देशनालयले गत आर्थिक वर्ष २०७४÷०७५ मा गरेको गणनापछिको तथ्याङ्कअनुसार इलाममा बाख्राको सङ्ख्या दुई लाख ३७ हजार ४९० रहेको छ । तीमध्ये उन्नत जातका बाख्रा ६२ हजार ९५५ र स्थानीय जातका बाख्रा एक लाख ७४ हजार ५३५ छन् ।
 त्यसैगरि इलाममा भेडाको सङ्ख्या १४५ रहेकोमा ती सबै स्थानीय जातका हुन् ।
यता सुँगुर र बङ्गुरको सङ्ख्या पनि इलाममा उल्लेख्य रहेको निर्देशनालयको तथ्याङ्कमा देखाइएको छ ।
 इलाममा ९४ हजार ४७२ वटा बङ्गुर सुँगुरमध्ये स्थानीय जातका ५६ हजार ७४० र उन्नत जातका ३७ हजार ७३२ छन् । कुखुरा पालनका हिसाबले पनि इलाम कमजोर 
देखिँदैन ।
 कुखुरा इलाममा स्थानीय जातका, लेयर्स, ब्रोइलर्स, डुअर्स र गिरीराज जातका पालन गर्ने गरेको पाइएको छ । ती मध्ये सबैभन्दा बढी स्थानीय जातका तीन लाख ४९ हजार रहेको देखिएको छ । 
त्यसपछि ब्रोइलर्सको सङ्ख्या ६४ हजार ५०० छ भने गिरिराज कुखुराको सङ्ख्या आठ हजार रहेको छ । त्यस्तै डुअल कुखुराको सङ्ख्या तीनहजार ६७० र लेयर्स कुखुराको सङ्ख्या दुई हजार २०० रहेको छ ।
इलाममा हाँस २१८ वटा, खरायो १८० वटा, घोडा खच्चड दुईहजार ८५५ वटा, याक चौरी १६० वटा रहेको पनि निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस