• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:30:33

अनुसन्धान कार्यालयको दादागिरी

सन्दकपुर डेस्क 
इलाम, २१ भदौ :
इलामको राष्ट्रिय अनुसन्धान कार्यालयले विद्युत महसुल नतिरेको नौ महिना बितिसकेको छ । उक्त कार्यालयको नाममा नौ महिनादेखिको महसुल बाँकी २१ हजार २४७ रुपैयाँ रहेको प्राधिकरणको अभिलेखले देखाएको छ । 
सामान्यतया आर्थिक वर्ष समाप्त हुँदा सरकारी बजेटको फरफाराक हुन्छ । तर अनुसन्धान कार्यालयले आर्थिक वर्ष सकिएको डेढ महिना बितिसक्दा पनि बाँकी महसुल तिरेको छैन । सरकारी कार्यालयलाई बर्षभरिको विद्युत महसुल तिर्ने बजेट पनि हुन्छ । अनुसन्धान कार्यालयले महसुल तिर्नु त कता हो कता, नियमानुसार महसुल नतिर्ने ग्राहकको लाइन काट्न कार्यालयमा पुगेका विद्युत प्राधिकरणका कर्मचारीलाई नै धम्क्याउने गरेको छ ।
अनुसन्धान कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक तुलसी प्रसाईले नै लाइन काट्न आउने कर्मचारीलाई धम्कीसहित गालीगलौज गरेर फर्काउने गरेका छन् । प्राधिकरण स्रोतका अनुसार प्रसाईले आपूm बसेको धेरै वर्ष भएको भन्दै लाइन काट्न गएका कर्मचारीलाई धम्क्याए पछि उनीहरु लाइन नकाटी फर्किएका थिए । उनले धम्क्याएपछि प्राधिकरण फेरि अनुसन्धान कार्यालय पुग्न सकेको छैन । अनुसन्धानले पनि रकम तिर्न कुनै चासो देखाएको छैन । नौ महिनादेखि विद्युत महसुल नतिरेको अनुसन्धान कार्यालयमा त्यो शिर्षकमा बिनियोजित बजेट कहाँ गयो त भन्ने खोजीको विषय बनेको छ ।
दुई दर्जनभन्दा बढी सरकारी कार्यालयको महसुल बाँकी
विद्युत महसुल नतिर्ने सरकारी कार्यालय तथा संघसंस्थाहरूमा अनुसन्धान कार्यालय मात्र होइन् । त्यस्ता दुई दर्जन बढी कार्यालयले विद्युत महसुल धेरै महिनादेखि तिरेका छैनन् । त्यसरी तीन महिनादेखि १९ महिनासम्म महसुल नतिर्ने कार्यालयबाट मात्र प्राधिकरणमा तिर्न बाँकी लाखौँ रुपैयाँ छ । 
धेरै महिना महसुल नतिर्नेमा उप स्वास्थ्य चौकीका नाममा १९ महिनाको तीन हजार ९११ रुपैयाँ, गाउँ विकास कार्यालयको नाममा १६ महिनाको छ हजार २७२, वार्ड कार्यालयका नाममा १० महिनाको तीन हजार ७२४ रुपैयाँ र सिद्धदेवी टी स्टेटका नाममा १० महिनाको एक हजार ९४३ रुपैयाँ महसुल बाँकी छ । त्यस्तै आदर्श प्राविका नाममा ९ महिनाको एक हजार ४०३, महमाई गाविसका नाममा ९ महिनाको नौ हजार ५०१, प्राथमिक स्वास्थ्य केन्द्र प्याङको ८ महिनाको १८ हजार ६७८, जस्वीरे चिया प्रशोधनको ८ महिनाको ५२ हजार ४४१, चिसापानी हेल्थ पोष्टको ८ महिनाको नौ हजार ४५२ रुपैयाँ महसुल बाँकी छ ।
साँखेजुङ गाविसको ७ महिनाको एक हजार २०४, कोष तहसिल मालपोत कार्यालयको ६ महिनाको १२ हजार ३२७, स्वास्थ्य चौकी शान्तिडाँडाको ६ महिनाको एक हजार ९२, माई नगरपालिका कार्यालयको ६ महिनाको आठ हजार ५९२ रुपैयाँ महसुल तिर्न बाँकी देखिएको छ । यो बाँकी रहेको महसुल रकम हर्जनाबाहेकको हो ।
निजी उपभोक्ता (ग्राहक)ले समयमा महसुल नतिरे तत्काल विजुलीको लाइन काटिने भएपनि तिनै उपभोक्तालाई सेवा दिन खडा भएका सेवाप्रदायक सरकारी कार्यालय र संघसंस्थाहरुले चाहिँ महसुल नतिरी बस्दा नागरिकले के सोच्ने ? नागरिकले नै तिरेको करले विद्युत महसुल तिर्न बजेट छुट्याए पनि बितेको आर्थिक वर्षमा विद्युत महसुल नतिरेर त्यो शिर्षकमा छुट्टिएको बजेट ती सेवाप्रदायक कार्यालयले दुरुपयोग गरेको प्रष्ट हुन्छ ।
२४ ब्यक्तिगत ग्राहकको नाम कालोसूचीमा
विद्युत महसुल नतिर्नेमा ब्यक्तिगत उपभोक्ता पनि छन् । प्राधिकरणले गएको आर्थिक वर्ष २०७४÷०७५ मा महसुल नतिर्ने त्यस्ता २४ ब्यक्तिगत ग्राहकको नाम कालो सूचीमा पनि राखिसकेको छ । ती ग्राहकबाट हर्जनाबाहेक नै प्राधिरकणलाई तिर्न बाँकी चार लाख ३८ हजार ७६८ रुपैयाँ रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । ती ग्राहकमध्ये अनिल काष्ट उद्योगको नाममा सबैभन्दा बढी एक लाख १६ हजार ४१० रुपैयाँ महसुल बाँकी छ । अन्य धेरै बाँकी हुने कालो सूचीमा सूचिकृतमा मारवाडी सेवा समितिको ६६ हजार ३२१, सिंहबाहिनी अफसेटको १० हजार ४०, सुरक्षा ग्रील उद्योगको २७ हजार २५४, सनराइज कलर ल्याबको २९ हजार ६३४, सिनेमा हलको १७ हजार ४१३ र रोड कप वर्क सपको १३ हजार २२२ रुपैयाँ बाँकी रहेको छ ।
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको समेत गत वर्षमा ६४ लाख २० हजार रुपैयाँ उठ्न बाँकी रहेको जनाएको छ । त्यो रकम इलाम नगरपालिकाभित्र बालिएको सडक बत्तीको मात्र हो ।
लाइन काटेर ३७ लाख बक्यौता असुल
प्राधिकरणले गत आर्थिक वर्षमा लाइन काट्ने काम गरेर बाँकी महसुलमध्ये ३६ लाख ८५ हजार २७२ रुपैयाँ असुल गर्न सफल भएको छ । जम्मा ४६ लाख ३८ हजार रुपैयाँ बाँकी रहेकोमध्ये त्यति रकम असुल भएको प्राधिकरणले जनाएको छ । यो रकम बाँकी हुने इलाम वितरण केन्द्रअन्तर्गत र फिक्कल प्रशाखाअन्तर्गतका ६९८ ग्राहकको लाइन काटिएको थियो । ती मध्ये ५३४ ग्राहकले बक्यौता तिरेर लाइन जोडिएको हो ।
चुहावटको जरिवाना ढेढ लाखभन्दा बढी
त्यस्तै प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत चुहावट भएका ११ स्थानबाट कारबाही गरि दुई लाख ६४ हजार ३४४ रुपैयाँ जरिवाना गरेको जनाएको छ । इलामका पाँच तथा फिक्कल र पशुपतिनगरका तीन तीन स्थानमा चुहावट पाइएपछि कारबाही गरि उक्त जरिवाना गरिएको चुहावट फाँटका कर्मचारी तारा एक्तेनले सन्दकपुर दैनिकलाई जानकारी दिए ।
उठ्न बाँकी अढाइ करोड
प्राधिकरणको इलाम वितरण केन्द्रले अब उठाउन बाँकी रहेको बक्यौता रकम दुई करोड ४६ लाख ५९ हजार ४७० रुपैयाँ रहेको जनाएको छ । गत वर्ष केन्द्रले १६ करोड ८६ लाख १२ हजार ६८९ रुपैयाँ बराबरको विद्युत बिक्री गरेर १६ करोड ८५ लाख १६ हजार ७५९ रुपैयाँ सङ्कलन गरेको छ । यो रकम बिक्रीको ९९ प्रतिशत भन्दा बढी हो ।

प्रतिकृया दिनुहोस