• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:27:53

प्राधिकरणको लापरबाहीले उपभोक्ता अन्धकारमा

इलामको तिल्केनि स्थित सवस्टेसनमा थन्किएर रहेका ट्रान्स्फर्मरहरु । तस्विरः भगीरथ भण्डारी


रोहितचन्द्र भट्टराई,इलाम, २१ भदौ : देउमाई नगरपालिका ५ धुसेनीमा रहेको १०० केभीए (किलो भोल्ट एम्पीयर)को ट्रान्स्फर्मर गत असार ३१ गते बिग्रिएपछि त्यहाँबाट विद्युत उपभोग गरिरहेका तीन सय घर परिवारले डेढ महिनासम्म अन्धकारमा बस्नुपर्यो । प्राधिकरणले बत्ती बाल्ने चासो नै नदेखाएपछि उपभोक्ताले भदौ ६ गते मङ्गलबारेस्थित प्राधिकरणको प्mयूज सेवाको कार्यालयमा तालाबन्दी नै गरिदिए । त्यसको तीन दिनपछि प्राधिकरणले एउटा ट्रान्स्फर्मर लगेर जोडियो अनि धुसेनीमा बत्ती बल्यो । 
गएको सोमबार अर्थात् भदौ १८ गते राती देउमाई नगरपालिकाकै वडा नम्बर ४ को मङ्गलबारे बजारमा भएको १०० केभीए कै ट्रान्स्फर्मर बिग्रियो । दुई दिन बितिसक्दा पनि त्यहाँ बनाउन प्राधिकरणले ठाडा कान लगाएको छैन । त्यहाँ बिग्रिएको क्षमताको अर्को १०० केभीएको ट्रान्स्फर्मर प्राधिकरणले मर्मत गरेर राखेकै छैन । त्यसैले मङ्गलबारेमा पनि धुसेनीमा जस्तै उपभोक्ताले कतिञ्जेल अँध्यारोमा बस्नु पर्ने हो भन्ने टुङ्गो नै छैन । 
यी त भए बिजुली बिग्रिएर उपभोक्ताले कति सास्ती पाउँदा रहेछन् भन्ने प्रतिनिधी उदाहरण मात्रै । इलामका धेरै स्थानमा उपभोक्ताले यस्तै दुःख खेपिरहेका छन् । 
तर यसको समाधान गर्ने र इलामका उपभोक्तालाई बिजुली आपुर्ति गर्ने जिम्मा लिएर बसेको प्राधिकरणको इलामस्थित इलाम वितरण केन्द्र भने उपभोक्तालाई बिजुली आपूर्ति गर्नेतिर भन्दा बिलासितामा नै लाग्ने गरेको पाइन्छ । 
धेरैजसो गाउँमा ट्रान्स्फर्मरको खराबी भएर विद्युत अवरोध हुने गरेको छ, लामो समयसम्म । प्राधिकरणसँग इलाममै पनि २० वटा भन्दा बढी विभिन्न क्षमताका ट्रान्स्फर्मर अहिले पनि स्पेयर छन् । तर ती सबै बिग्रिएकै अवस्थामा मात्र । 
बिग्रिएका ट्रान्स्फर्मर बनाएर चालु हालतमा राखिराख्ने र जडान भएको ट्रान्स्फर्मर बिग्रिएमा तत्काल त्यहाँ लगेर जडान गरिदिने काममा इलाम वितरण केन्द्रको ध्यान नै गएको देखिँदैन । धुसेनीको ट्रान्स्फर्मर बिग्रिँदा त्यस्तै भएको देखिन्छ । १०० केभीएको ट्रान्स्फर्मर डेढ महिनासम्म नै बिग्रिएर थन्किएको ठाउँबाट मर्मत गर्न पनि पठाइएन, मर्मत भएको ठाउँबाट ल्याउन पहल पनि गरिएन ।
आज पनि बिग्रिएका १४ वटा ट्रान्स्फर्मर इलामको तिल्केनी र फिक्कलका सब स्टेशनमा त्यसै लडाइराखिएको छ । ती सबै ट्रान्स्फर्मर मर्मत गरेर अपडेट राख्ने हो भने पनि सबै क्षमताका कम्तिमा दुईदुई वटा अपडेट गर्न पुग्छन् । जहाँ बिग्रिएको हो त्यहाँ तत्काल बिजुली आपूर्ति गर्न सकिन्छ । तर ती बिग्रिएका ट्रान्स्फर्मर मर्मत गर्न गाडि पठाउनु भन्दा इलाम वितरण केन्द्रका प्रमुख गाडि लिएर घुम्न हिँडिरहेका छन् । उता मंगलबारेका उपभोक्ता बिजुली कहिले आउँछ भनेर कुरेर बसिरहँदा ट्रान्स्फर्मर लिएर मर्मतका लागि जानुपर्ने र मर्मत भएको ट्रान्स्फर्मर लिएर आउनुपर्ने गाडि नै लिएर केन्द्रप्रमुख रबिनबाबु घिमिरे मंगलबार दार्जिलिङतिर घुम्न गएका थिए । उनले पाहुनालाई घुमाउन पशुपतिनगरतिर लिएर गएको बताए । 
यसै गरि कहिले कता र कहिले कता गाडि दुरुपयोग गरिने हुँदा ट्रान्स्फर्मर मर्मत गरेर ल्याउन नसकेको पाइएको छ । प्राधिकरणसँग एउटा मात्र गाडि छ । ट्रान्स्फर्मर बिग्रिँदा विराटनगर पुर्याउनु पर्छ । मर्मत गर्न लाने र मर्मत भएका ल्याउने कामका लागि गाडि खाली नभएर नै समस्या आएको प्राधिकरणका कर्मचारीहरू बताउँछन् । तिल्केनी सबस्टेशनका स्टोरका कर्मचारी रमेश केसीका अनुसार गाडिले नभ्याएकाले मर्मतमा पठाउन नपाइएको बताए । उनले अहिले तिल्केनी सबस्टेशनमा सातवटा बिग्रिएका ट्रान्स्फर्मर रहेको र मर्मतका लागि कुनै पनि नगएको बताए । उनको भनाई अनुसार ट्रान्स्फर्मर अहिलेसम्म कुनै पनि बनाउन नै लगिएको छैन । अनि कहिले बनिएर ट्रान्स्फर्मर आउला र हामीले बिजुली बाल्न पाइएला भनेर उपभोक्ताले कुरिरहने ? प्राधिकरणको यो लापरबाहीले उपभोक्ता सधैँ ठगिइरहन बाध्य छन् ।

प्रतिकृया दिनुहोस