• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:27:48

सम्पादकीय : बजेट सदुपयोग होस्

सन्दकपुर दैनिक (२०७५।०५।१९)
देऊमाई नगरपालिकाले चालु आर्थिक वर्षका लागि ५४ करोड १७ लाख ७५ हजार रुपैयाँको बार्षिक बजेट सार्वजनिक गरेको छ । चालु खर्च ३७ करोड ४३ लाख सात हजार रुपैयाँ र पुँजीगत खर्च १६ करोड ७४ लाख ६८ हजार रुपैयाँ गर्ने भएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट नौ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने र संघीय तथा प्रदेश सरकारबाट अन्य रकम अनुदानबापत प्राप्त गर्ने उल्लेख गरेको छ ।
नगरपालिकाको बजेटलाई हेर्दा एउटा स्थानीय तहले यति काम गर्न नसक्ला भन्ने देखिँदैन । तर नगरपालिकाले उठाउने आन्तरिक स्रोतलाई गहिरिएर बुभ्mने हो भने यत्रो रकम कसरी स्थानीयस्तरमा संकलन होला त भन्ने प्रश्न पनि आउँछ । नगरपालिकाले झण्डै दश करोड रुपैयाँ आन्तरिक स्रोतबाट उठाउने अनुमान गरेको छ । यो रकम सानो होइन । 
देऊमाई नगरपालिका धेरै आम्दानी हुनसक्ने नगरपालिका हो भनेर भन्न मुस्किल छ । यहाँ पर्यटकीय दृष्टिकोणले पनि त्यति धेरै चर्चा कमाएका स्थलहरू छैनन् । नगदे बालीको हिसाबले हेर्ने हो भने यहाँको नगदेबालीले भर्खर मात्रै उत्पादनको मात्रा बढाउँदै लगेको र आम्दानी लिने तरखर गर्दै गरेको देखिन्छ । त्यो हिसाबले हेर्दा निकासी करको मात्रा ठूलो नहुन सक्छ । 
ब्यवसाय कर पनि यो नगरपालिका भित्र त्यति धेरै हुँदैन । यहाँ ठूला ठूला ब्यापार ब्यवसाय हुने उद्योग धन्दा, कारखाना छैनन् । ग्रामीण भेगमा हर्जा टार्ने खालका ब्यवसायबाट ठूलो आशा राख्न पनि सकिँदैन । त्यसैले ब्यवसाय करले पनि त्यत्रो ठूलो भरथेग गर्ला भन्ने आशा राख्न गलत हुन सक्छ । नगरपालिकाले लगाउने सम्पत्ति कर, मालपोत करको कुरा आउँछ । त्यो पनि चल्तीको मूल्य अनुसार नगरपालिकाले तोक्न पर्छ । 
त्यसैले नगरपालिकाले अनुमान गरेको दश करोड आन्तरिक आम्दानी गर्नका लागि धेरै मेहनत जरुरी छ । यदि यो रकम बराबरको आन्तरिक आम्दानी हुन नसकेको खण्डमा नगरबासीलाई देखाइएको विकासे योजनाहरूको आश पूरा गर्न सकिँदैन । नगरबासीको आश पूरा गर्न नसकेको खण्डमा स्थानीय तहको संस्थागत हुने प्रयासमा असर पर्न सक्छ । 
त्यसैले अनुमान गरेको आम्दानी र खर्चलाई बेलैदेखि होशियारपूर्वक कार्यान्वयनमा लानका लागि जनप्रतिनिधी, कर्मचारी, सरोकारवाला र नगरबासीले पहल गर्नुपर्ने देखिन्छ । त्यसका लागि जसरी काम गर्ने भनेर बजेट छुट्याइएको छ । त्यसका लागि बजेट सदुपयोग गर्न आवश्यक छ । 

प्रतिकृया दिनुहोस