• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:28:28

‘आगो दन्काउन’ मात्रै इलाम नपाको दमकल

इलाम नगरपालिकामा भएको दमकल

सन्दकपुर संवाददाता
इलाम, १८ भदौ :
सामान्यतया आगलागी हुँदा तत्काल निभाउन र क्षति तथा हताहती रोक्न दमकल (बारुण यन्त्र) प्रयोग गरिन्छ । तर इलाम नगरपालिकामा भएको दमकलले अलिक ठूलो आगलागी भएमा आगो निभाउने भन्दा ‘आगो दन्काउने’ काम बढी गर्ने गरेको छ भन्दा नगरबासीले नकार्दैनन् । 
यो कुरालाई आइतबार रातीको घट्नाले नै पुष्टि गरिदिएको छ । आइतबार राती इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा आगलागी हुँदा इलाम नगरपालिकाको दमकललाई पनि आकस्मिक रुपमा बोलाइएको थियो । तर इलाम नगरपालिकाको दमकल आधा बाटो नपुग्दै ‘बिग्रिएर’ अगाडि बढेन । नपाको दमकल बाटोमै थन्किएपछि राती नै फेसबुकमा आरोप–प्रत्यारोप र विवादी आगो दन्किन शुरु भयो ।
भर्खरै मात्र ५८ लाख रुपैयाँमा उपमेयरका लागि गाडि आएको चर्चा चलिरहेको बेला आकस्मिक प्रयोगमा चाहिने दमकलले काम नगरेको हो । यो फेसबुक प्रयोगकर्ताको लागि दरिलो मसला बनेको देखियो । कसैले करका नाममा जननिर्वाचित प्रतिनिधीले चकचकी गरेको भनेर लेखे, त कसैले दमकल बिग्रिएको नाममा कमाई खाने भाँडो बनाइने गरेको चर्चा पनि गरे । 
नहोस् पनि कसरी ? इलाम नगरपालिकाको अहिले भएको दमकलले आगलागी हुँदा निभाउने भन्दा पनि खेलमैदान, बगैँचा र बाटोमा पानी छ्याप्ने काम बढी गरेको छ । पाँच वर्षअघि खरिद गरिएको अहिलेको दमकलले ताप्लेजुङमा भएको आगलागीमा पुग्न भ्याएको थियो भने, नेपालटारको आगलागीमा आगो निभाएको थियो । त्योबाहेक यो दमकलले इलाम बजार वरिपरिका दुईचार वटा घरमा भएको सामान्य आगो निभाउन प्रयोग गरिएका छन् ।
ताप्लेजुङपछिको ठूलो आगो निभाउन हिँडेको दमकल आइतबार बाटोमै बिग्रिएको हो । बाटोमा जाँदाजाँदै दमकलको इञ्जिन तातिएर गुड्न नसकेको दमकल चालक टेकबहादुर बस्नेतले बताए । गाडि तातिएर केही गर्दा अगाडि बढाउन नसकेपछि फर्काइएको उनको भनाई थियो । आउँदा पनि बाटोमा बिसाउँदै सेलाउँदै ल्याएको उनले बताए । बिग्रिएको दमकल सोमबार नै मर्मत गरिएको र अब त्यस्तो समस्या नआउने उनको भनाई थियो ।
इलाम नगरपालिकाको दमकलले आगलागीका बेला विवाद निम्त्याएको यो पहिलो पटक होइन । यसअघि नगरपालिकाकै अर्को दमकलले पनि यसैगरि विवाद निम्त्याएको छ । विवाद मात्र होइन त्यो दमकलका कारण त इलाममा ध्वंस पनि भयो । लोकतन्त्र प्राप्तिपछि आन्दोलनका शहिदका नाममा इलाम चोकबजारमा बनिएको शहिद स्तम्भ नै दमकलका कारण बजारबासीले ध्वस्त बनाइदिएका थिए । यो २०६७ सालको कुरा हो । त्यतिबेला इलाम बजारमा आगलागी भएको थियो । आगलागी हुँदा इलामको दमकल इलाममा थिएन र कुनै कामका लागि अन्यत्र गएको पनि थिएन । बिग्रिएको भनेर दमकल झापाको बिर्तामोड पु¥याइएको थियो । यहाँ सुनसरीबाट दमकल बोलाउनु परेको थियो । आगलागी नियन्त्रण गर्न दमकल प्रयोग हुन नसकेपछि त्यही विषयले चर्को रुप लिँदै जाँदा शहिदको नामको स्तम्भ नै तोडियो ।
पहिलेको दमकले पुरानो भयो भनेर ल्याइएको नयाँ दमकल अहिलेसम्म नयाँकै रुपमा छ । एकपतक ताप्लेजुङबाहेक यो दमकलले लामो दूरीमा गएर आगलागी निभाउने काम गर्नु परेकै छैन । स्थानीय ठाउँमा पाँच छ पटक मात्र आगो निभाउन कुदाइयो होला । त्यसरी काममा प्रयोग नै नभएको यो दमकल आगलागीमा चाहिँदा चाहिँ बिग्रियो भनेर घटनास्थल नै नपुग्नुले इलाम नगरपालिकाको चरम लापरबाहीपन झल्काउँछ । आकस्मिक रुपमा मात्र प्रयोग हुने यस्तो यन्त्र त्यतिबेला चल्ने गरि अपडेट राख्नु पर्ने हो । तर आकस्मिक रुपमा आउने खतरालाई नगरपालिकाले बेपरवाह गरेको छ । 
नगरपालिकाले वारुणयन्त्र सञ्चालनकै लागि तीन जना कर्मचारी पनि राखेको जनाएको छ । चालक बस्नेतकै अनुसार हप्तामा एकपटक पानी फेर्ने र तीन दिनमा एकपटक गाडि कुदाएर चालु हालतमा राख्ने गरिएको भएपनि यस्तो समस्या आएको हो ।
 

प्रतिकृया दिनुहोस