• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:46:14

देउमाई नपाको बार्षिक बजेट सवा ५४ करोड

सन्दकपुर संवाददाता
मङ्गलबारे, १७ भदौ :
इलामको देऊमाई नगरपालिकाले चालु आर्थिक वर्षका लागि ५४ करोड १७ लाख ७५ हजार रुपैयाँको बार्षिक बजेट सार्वजनिक गरेको छ । आइतबार मङ्गलबारेस्थित नगरपालिका कार्यालयको सभाकक्षमा सम्पन्न गत आवको समीक्षा र चालु आवको योजना तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त बजेट प्रस्तुत गरिएको हो । 
कार्यक्रममा नगरपालिकाका इञ्जिनियर प्रतिक दवाडीले गत वर्षको समीक्षा र चालु वर्षको योजनासहितको प्रस्तुति विद्युतीय स्लाइडमार्पmत पस्किएका थिए । सार्वजनिक सुनुवाईसमेत भनिएको कार्यक्रममा नगरपालिकाका निर्वाचित प्रतिनिधीहरु उपस्थित थिए । उनीहरुबाहेक स्थानीय सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको थियो ।
इञ्जिनियर दवाडीले प्रस्तुत गरेको बजेट कार्यक्रमअनुसार नगरपालिकाले चालु आवमा चालु खर्च ३७ करोड ४३ लाख सात हजार रुपैयाँ र पुँजीगत खर्च १६ करोड ७४ लाख ६८ हजार रुपैयाँ गर्ने भएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट नौ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने र संघीय तथा प्रदेश सरकारबाट अन्य रकम अनुदानबापत प्राप्त गर्ने उल्लेख गरेको छ ।
नगरपालिकाले पुँजीगत खर्चअन्तर्गत भवन खरिदमा दुई लाख, भवन निर्माणमा ६४ लाख १५ हजार, फर्निचर तथा फिक्चर्समा पाँच लाख ५० हजार, मेशिनरी तथा औजारमा १२ लाख ६० हजार, सडक तथा पुल निर्माणमा सात करोड ८१ लाख ५८ हजार रुपैयाँ खर्च गर्ने जनाएको छ । त्यस्तै विद्युत संरचना निर्माणमा दुई करोड ८२ लाख, सिञ्चाई संरचना निर्माणमा २५ लाख ४० हजार, खानेपानीमा २१ लाख ५० हजार, सरसफाईमा चारलाख ८० हजार, अन्य सार्वजनिक निर्माणमा दुई करोड पाँच लाख १५ हजार, जग्गा प्राप्तिमा एक करोड २० लाख र भैपरी आउने पुँजीगत खर्चमा एक करोड ५० लाख खर्च गर्ने योजना वार्षिक कार्यक्रममा राखिएको छ । 
त्यस्तै नगरपालिकाले आन्तरिक स्रोतअन्तर्गत एकीकृत सम्पत्ति करबाट ८५ लाख, भूमिकर तथा मालपोतबाट १० लाख, सवारी साधन करबाट दुई लाख ५० हजार, पूर्वाधार सेवामा उपयोग कर दुई लाख रुपैयाँ उठाउने योजना छ । विज्ञापन कर अढाई लाख, मनोरञ्जन कर तीन लाख, ब्यवसाय रजिष्ट्रेशन दस्तुर २२ लाख, कृषि तथा पशुजन्य बस्तुको ब्यावसायिक कारोबारमा कर अढाई लाख, अन्य कर ७३ लाख, बिक्रीबाट ५० हजार, सेवा शुल्क ११ लाख, न्यायिक दस्तुर एक लाख उठाउने योजना छ । नगरपालिकाले शिक्षा क्षेत्रबाट अढाई लाख, पार्किङ शुल्क एक लाख, नक्शापास दस्तुर ३२ लाख, सिफारिस दस्तुर साढे ३४ लाख, घटना दर्ता दस्तुर दुई लाख, नाता प्रमाणित दस्तुर पाँच लाख, न्यायिक दण्ड जरिवाना र जफतबाट एक लाख तथा साना सवारी करबाट एक लाख रुपैयाँ सङ्कलन गर्ने जनाएको छ ।
नगरपालिकाले यो सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहान १० बजे नै शुरु गर्ने भनेर आयोजना गरेको भएपनि तीन घण्टा ढिलो अर्थात् दिउँसो एक बजे पछि मात्र कार्यक्रम शुरु गरेको थियो । कार्यक्रममा सहभागिताका लागि प्रमुख अतिथि प्रदेशका सांसद राम राना, नगर प्रमुख सुर्य पोख्रेल, उपप्रमुखसहित वडाध्यक्षहरु, वडा सदस्यहरु, नगर तथा वडाका कर्मचारीहरु समयमै मङ्गलबारे बजारमा देखिएका भएपनि कार्यक्रम भने तीन घण्टा ढिलो शुरु गरिएको हो ।
कार्यक्रमको सञ्चालन इलाम एफएमले गरेको थियो । कार्यक्रममा प्रदेश सांसद रानालगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए भने सहभागीको जिज्ञासामा नगरप्रमुख पोख्रेलसहितका जनप्रतिनिधीले जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस