• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:30:57

इलाम देऊमाईका मोहन बरालसहित ११ जना विप्लवका कार्यकर्तालाई प्रहरीले समाल्बुङबाट पक्रियो

सन्दकपुर संवाददाता
इलाम, १४ भदौ :
प्रहरीले नेपाल कम्यूनिष्ट पार्टी विप्लब समूहका ११ जना नेता कार्यकर्तालाई पूर्वी इलामको समाल्बुङबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका वडा नम्बर ८ जीतपुरका ६७ बर्षीय मोहनबहादुर बराल पनि छन् ।
प्रहरीले मोरङका एकजना र झापाका नौ जनालाई पक्रिएको हो । उनीहरुलाई सूर्योदय नगरपालिका ५ मा पर्ने समाल्बुङको सुम्फुङ भन्ने ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती कार्यकर्तालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक तथा प्रहरी चौकी समाल्बुङबाट प्रहरी सहायक निरीक्षकसहितको टोली त्यहाँ पुगेको थियो ।
पक्राउ पर्नेमा मोरङका ४५ वर्षीय सौगात भनिने अर्जुन आचार्य, झापाका ३४ वर्षीय सन्तोष लिम्बू, २८ वर्षीय सुमनसिंह पौडेल, ३० वर्षीय तारा थापा, ३८ वर्षीय चमनलाल माझी, ४८ वर्षीय चित्र विश्वकर्मा, २९ वर्षीय सुरेन्द्र मिश्र, २५ वर्षीय सञ्जय राई, ३५ वर्षीय भीमकुमार सुब्बा, र ३० वर्षीय विनोद कुमार राई छन् ।

प्रतिकृया दिनुहोस