• शनिबार ५-२-२०७५/Saturday 08-18-2018
  • 10:46:41

डेढ महिनादेखि माईजोगमाई गाउँपालिका अन्धकारमा

इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ ।
विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन् । विद्युत् नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका–२, ४, ५ र ६ का करीव २५० घरधुरी बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् । त्यहाँका काठका पोल जीर्ण भएकाले सडक निर्माणका क्रममा ढलेको वडासचिव गोविन्द भट्टराईले जानकारी दिए ।
उनका अनुसार सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्मका छ वटा पोल ढलेका थिए । तर त्यस ठाउँमा नयाँ पोल प्रतिस्थापनमा ढिलाइ भएकाले अन्धकार भएको उनको भनाइ छ । त्यहाँ १५ वटा नयाँ पोल फेर्नुपर्ने भएकाले ढिलाइ भएको बताइएको छ ।
साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्नेसमेत भएकाले विद्युत् सञ्चालन हुन अझ केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिए ।

प्रतिकृया दिनुहोस