• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:11:50

आयोजना सकिने मितिको डेढ महिनापछि रातारात कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर

सन्दकपुर डेस्क
इलाम, ५ साउन :
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गत आर्थिक वर्षमा सम्पन्न गरेको भनिएको ३६ लाख रुपैयाँको एउटा आयोजना कार्यान्वयन गर्न कार्यादेश पाएको भनिएको उपभोक्ता समिति र कार्यालयबीचको सम्झौतामा रातारात हस्ताक्षर भएको छ । गत आवमै सम्पन्न भएर आयोजनाको बिनियोजित सबै रकम खर्च भइसकेको देखाइए पनि आर्थिक वर्ष सकिएको झण्डै डेढ महिनापछि खाली सम्झौताका पानामा आज मङ्गलबार (२०७५ भदौ ५ गते) हस्ताक्षर भएको छ ।
सन्दकपुर अनलाइनले हिजो (भदौ ४ गते) किर्ते उपभोक्ता समितिका नाममा बजेट खर्च भएको समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा किर्ते उपभोक्ता समितिको नाम राखिए पनि समितिका तर्पmबाट सम्झौता पत्रमा हस्ताक्षर समेत नभएको उल्लेख थियो । समाचार प्रकाशन भएको भोलिपल्ट आज नै कार्यालयले उपभोक्ता समितिका अध्यक्ष भनिएका विक्रम चेम्जोङ नामका एकजनालाई सम्झौतामा सहीछाप गराएको छ ।
कार्यालयले विक्रम चेम्जोङ नै उपभोक्ता समितिको अध्यक्ष भएको र उनको नेतृत्वको उपभोक्ता समितिले नै आयोजना कार्यान्वयन गरेको जनाएको छ । पञ्चकन्या लक्ष्मीपुर खानेपानी आयोजना नामको उक्त आयोजना कार्यालयका तर्पmबाट हेर्ने प्राविधिक भनिएका इञ्जिनियर बिनोद योञ्जनले चेम्जोङ नै अध्यक्ष भएको बताए । 
उनले यसअघि दुवै पक्षको हस्ताक्षर भएको सम्झौताचाहिँ भूलबस अध्यक्ष चेम्जोङसँगै गएकोले कार्यालयमा नभएको र आज (सोमबार) चेम्जोङले ल्याएर कार्यालयमा उपलब्ध गराएको बताए । इञ्जिनियर योञ्जनसँग भएको सो आयोजनाको फाइलमा हिजो सोमबारसम्म कार्यान्वयन गर्न कार्यादेश पाएको भनिएको पञ्चकन्या लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँग गरिएको भनिएको सम्झौतामा समितिका तर्पmबाट कसैको सही र छाप थिएन । 
त्यो समितिसँग सात महिनाको फरकमा दुईवटा मितिमा भएका दुवै सम्झौतामा कार्यालय प्रमुख डिभिजन इञ्जिनियर मोतिउर रहमानको मात्र हस्ताक्षर थियो । इञ्जिनियर योञ्जनले ‘हस्ताक्षर भएको सम्झौता भूलबस चेम्जोङसँगै गएको’ भनेपनि सात महिना फरकमा भएका दुवै मितिमा हस्ताक्षर गरिएका सम्झौता भूलबस नै उपभोक्ता समितिका अध्यक्षले लानु र कार्यालयमा चाहिँ हस्ताक्षर नभएका मात्र रहनुले यो आयोजनामा अनियमितता भएको प्रष्ट्याउँछ । 
ती दुवै सम्झौता पत्रमा गएको २०७५ असार २५ गते नै आयोजनाका सम्पूर्ण काम सम्पन्न गर्ने मुख्य शर्त समावेश गरिएको छ । तर सम्झौता कार्यान्वयन गर्ने मुख्य सरोकारवाला भनिएको उपभोक्ता समितिका तर्पmबाट चाहिँ आयोजना सम्पन्न गर्नुपर्ने मितिको डेढ महिना पछिमात्र आयोजना कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर हुँदैछ, त्यो पनि रातारात । ती मध्ये एउटा सम्झौता पत्रमा ११ महिनाअघि र एउटामा पाँच महिनाअघि नै हस्ताक्षर हुनुपर्ने हो ।
हाल लक्ष्मीपुर निबासी चेम्जोङ मङ्गलबार १० बजेअघि नै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा थिए । उनी १२ बजे डिभिजनबाट निस्किएर लक्ष्मीपुर गएका हुन् । कार्यालयका अधिकृत हरिबहादुर दहालका अनुसार चेम्जोङ आएर उनीसँग भएको सम्झौता दिएर गएका हुन् । निमित्त कार्यालय प्रमुख विरेन्द्रबहादुर बस्नेतले पनि झुक्किएर समितिले लगेको सम्झौता ल्याइदिएको बताए । 
चेम्जोङले पञ्चकन्या लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँगको एकवर्ष अघिको मितिको सम्झौतामा यतिखेर आएर हस्ताक्षर गरेको देखाइए पनि यो उपभोक्ता समितिको कुनै आयोजना सम्पन्न गर्ने हैसियत छैन । यो नाम गरेको उपभोक्ता समिति इलामका कुनै गाउँमा गठन भएको छैन । कतै समितिको विधान दर्ता गरेको पनि पाइँदैन । त्यसैले कथित समितिका नाममा डिभिजन कार्यालयले आयोजना कार्यान्वयन गर्ने कार्यादेश र हस्ताक्षर नभएका सम्झौता फाइलमा राखेर लाखौँ रकम हिनामिना भएको प्रष्ट्याउँछ ।
खानेपानी डिभिजन कार्यालयमा पनि अहिलेसम्म पञ्चकन्या लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाम र अध्यक्ष भनिएका चेम्जोङको नामबाहेक कुनै जानकारी छैन । कार्यालयका अभिलेखमा भएका कार्यादेश, सम्झौता पत्र, चेक बनिएका श्रेस्तामा समितिका अन्य पदाधिकारी तथा सदस्यको नामसम्म पनि छैन । त्यतिमात्र होइन, कार्यालयले समितिलाई उपलब्ध गराइएको फिटिङ्सका सामान र पाइप जस्ता सामान कहाँ कुन प्रयोजनको लागि भन्ने समेत कुनै कागजातमा खुल्दैन । समितिलाई उपलब्ध गराइएको नगदले कुन काम गर्ने भन्नेसम्मको श्रेस्ता पनि कार्यालयमा छैन ।

प्रतिकृया दिनुहोस