• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:56:33

सूर्योदय नपाका चार योजनामा अख्तियारको आँखा

गएको असारमा सम्पन्न सूर्योदय नगरपालिकाको चालु आवको वार्षिक योजना सार्वजनिक कार्यक्रम

सन्दकपुर संवाददाता
इलाम, ३० साउन :
पूर्वी इलामको सूर्योदय नगरपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही योजनाका कागजात माग गरेको छ । गत आर्थिक वर्ष २०७४।०७५ मा भएका ती योजनाका कामको विषयमा अख्तियारले नगरपालिकालाई कागजात मागेको नगर प्रमुख रनबहादुर राईले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।
प्रमुख राईका अनुसार कन्याम चियाबगान क्षेत्रमा नगरपालिकाद्वारा गरिएको मेची राजमार्गको सडक क्षेत्र कायम गर्ने योजनासहित सोही क्षेत्रका पाँचवटा योजनाको कागजपत्र अख्तियारले मागेको हो । अख्तियारले माग गरेअनुसारका कागजपत्र पठाइसकिएको पनि उनले बताए । 
अख्तियारले कन्याममा गत आवमा नगरपालिकाले सडक क्षेत्र कायम गर्नका लागि खनिएको योजना, हर्कटेदेखि जिर्मलेसम्मको सडक स्तरोन्नति गर्ने योजना, कन्यामको कन्याम इन होटलदेखि तल जाने बाटोको योजना, हर्कटेबजारदेखि मुनी रहेको निर्माणाधीन पोखरीको योजनासमेतको कागजात मागेको हो  । 
ती योजना धेरैजसो सूर्योदय नगरपालिका ६ मा पर्छन् भने केहीले ७, ८ र ९ लाई पनि छोएका छन्  । यी सबै योजनाहरू स्थानीय उपभोक्ता समितिमार्पmत नगरपालिकाले काम गराएका योजनाहरू हुन् ।
अख्तियारले उच्च अदालतमा बिचाराधीन मुद्दा रहेको योजनाको पनि कागजात माग गरेको छ । कन्याममा राजमार्गको सडक क्षेत्र कायम गर्ने कामको बिपक्षमा कन्याम चिया बगान लिजमा लिएर सञ्चालन गरिरहेको त्रिवेणी संघाई ग्रुपले उच्च अदालतमा मुद्दा हालेको छ । सो मुद्दामा सूर्योदय नगरपालिकालाई विपक्षी बनाइएको छ । त्रिवेणी संघाई ग्रुपले निषेधाज्ञा माग गर्दै हालेको मुद्दामा अदालतले निषेधाज्ञा जारी नगरी मुद्दा विचाराधीन छ । 
‘यस्तो अदालतमा मुद्दा विचाराधीन भएको योजनाको कागजात पनि अख्तियारले मागेको छ’, प्रमुख राईले भने, ‘त्यो मिल्ने हो कि होइन ।’ सो योजनामा ५० लाख रुपैयाँ बजेट छुट्याएर काम थालिएको भएपनि उपभोक्ता समितिमार्पmत ४३ लाखको हाराहारीमा मात्र खर्च भएको उनले बताए ।
नगरपालिकाले गत जेठ महिनामा कन्याम क्षेत्रमा राजमार्गको सडक क्षेत्र कायम गर्न भन्दै डोजर लगाएर सडकले ओगटने क्षेत्र जति खनेको छ । त्यसका कारण केही चियाका बुट्टा बिग्रिएका छन् । यही विषयलाई लिएर त्रिवेणीले मुद्दा हालेको हो  ।
त्यसैगरि अख्तियारले हर्कटेदेखि जिर्मले जाने बाटोको विषयमा पनि कागजात मागेको हो । यो बाटोको योजनामा यसअघि पनि केही विवाद आएर काम रोकिँदै पुनः गरिँदै गरेको थियो । शुरुमा स्थानीय बासिन्दाले बाटो चौडाई बनाउँदा स्थानीय बासिन्दाका घर भत्किएको भन्दै बिरोध जनाएका थिए  । नगरपालिकाले उक्त सडकको चौडाई १० मिटरको बनाउने नीति बनाएपनि उपभोक्ता समितिले बाटो आठ मिटरको बनाउँदासमेत यसमा बिरोध भएको थियो  ।
यहाँका केही उपभोक्ताले बाटो बनाउँदा, उपभोक्ता समिति बनाउँदा राजनीतिक भेदभाव गरिएको आरोप पनि लगाएका थिए । सूर्योदय नगरपालिका वडा नम्बर ६ मा पर्ने यो बाटोको उपभोक्ता समिति बनाउँदा वडाध्यक्षले एमालेका उपभोक्तालाई मात्र समेटेको आरोप थियो । वडाध्यक्ष शीव बस्नेत पनि एमालेबाट विजयी भएका हुन् । 
हर्कटेदेखि झापाको बाहुन्डाँगीसम्म पुग्ने उक्त बाटोको ६०० मिटर भाग स्तरोन्नति गर्न गतवर्ष नगरपालिकाले ३० लाख रुपैयाँ र स्थानीय जनसहभागिताबाट पाँच लाख रुपैयाँ खर्च गरिएको नगरपालिकाले जनाएको छ । सो रकमले ६ सय मिटरमा बाटो चौडा गर्ने, पर्खाल लगाउने, ह्युम पाइप लगाउने जस्ता काम गरिएको थियो ।
त्यो बाहेक अन्य योजनालाई पनि मुसेर वडाध्यक्ष बस्नेतबाट नै अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले अख्तियारमा हालेको हुनसक्ने नगरपालिका स्रोतको भनाई छ  । ‘स्थानीय काङ्ग्रेस समर्थक उपभोक्ताले त्यसो गरेको हुन सक्छ । पहिलेदेखि नै वहाँहरूले बिरोध गर्दै आउनु भएको हो । तर सबै योजनामा उपभोक्ता समितिबाट काम भएका छन् । वडाध्यक्षले आपैmँ गरेको हुँदै होइन’, स्रोतले भन्यो । 
अख्तियारले चाहिँ ती योजनाहरूको डिजाइन इष्टिमेट, निर्णय, उपभोक्ता समितिको निर्णय तथा भुक्तानी गरिएको अभिलेख मागेको हो ।

प्रतिकृया दिनुहोस