• बिहीबार १-१३-२०७५/Thursday 04-26-2018
  • 05:17:00

प्राविधिक अभावमा प्रयोगशाला प्रयोगविहीन

इलाम जिल्लाको फिक्कलमा स्थापना गरिएको चियाको माटो परीक्षण प्रयोगशाला दक्ष प्राविधिक अभावमा सञ्चालनमा आउन सकेको छैन । चिया किसानको माटो परीक्षण गरी खेती विस्तार गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएको प्रयोगशाला प्राविधिक अभावमा प्रयोगविहीन बनेको हो । 

प्रयोगशालामा माटो परीक्षणका लागि आवश्यक मेसिन तथा औजार भए पनि दक्ष प्राविधिक नभएकै कारण माटो परीक्षण हुन नसकेको हो । ‘माटोमा भएको अम्लीयपना, नाइट्रोजन, फसफोरस परीक्षण गरिन्थ्यो । तर चियाका लागि नै चाहिँ योग्य प्राविधिक नहुँदा माटो परीक्षण गर्न सकिएको छैन,’ चिया विस्तार आयोजना फिक्कलका प्रमुख देउकुमार शिवुले भने । 

नार्कबाट प्राविधिक माग गरिएको उनले जानकारी दिए । २०६८ चैतमा नेपालमै पहिलोपटक चिया खेतीका लागि माटो परीक्षण गर्न प्रयोगशाला निर्माण गरिएको थियो । प्रयोगशालामा माटो परीक्षणका लागि चाहिने फ्लेम फोटोमिटरलगायतका केही नयाँ उपकरण ल्याई सकिएको आयोजनाले जनाएको छ । चियाका लागि फसफोरस, नाइट्रोजन र पोटासको जाँच गर्ने डिजिटल माइक्रो न्युटन एनलाइजरजस्ता उपकरण प्रयोगशालामा राखिएका छन् । “अब प्राविधिक मात्र अभाव भएको छ,’ उनले भने ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रयोगशाला स्थापना गरेको हो । चिया अनुसन्धान, माटो परीक्षण, टी–टेस्टिङजस्ता गर्ने उद्देश्यले प्रयोगशाला खोलिएको भए पनि प्रयोगशालामा प्राविधिक अभावमा चिया किसानले माटो परीक्षण बिना नै चिया खेती गरिरहेका छन् । भारतमा चियाकै लागि माटो परीक्षण प्रयोगशाला भए पनि झन्झटिलो र खर्चालु भएकाले त्यहाँसम्म किसानलाई जान समस्या हुने केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए । हिमालय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) र कफी विकास बोर्डले माटो परीक्षणका लागि आवश्यक उपकरणहरू दिएका थिए । प्रयोगशालामा माटोको पिएच, अग्र्यानिक म्याटर, फसफोरस, नाइट्रोजन, पोटास परीक्षण गर्न सकिन्छ तर प्राविधिक अभावमा अहिले त्यो काम हुन नसकेको आयोजनाले जनाएको छ । 

प्रयोगशालामा प्राविधिक नहुँदा किसानले आफूखुसी तरिकाले जस्तोसुकै माटोमा पनि चिया खेती गरिरहेकाले त्यो पछि गएर किसान आफैँलाई घाटा हुने आयोजना प्रमुख शिवुले बताए ।  चिया खेती गर्दै आएका करिब आठ हजार किसानलाई लक्षित गरी प्रयोगशाला स्थापना गरिएको थियो । इलाम, पाँचथर, झापा, तेह्रथुम, उदयपुर र धनकुटामा गरी २५ हजार चिया किसानले ७ हजार ६५५ हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएको आयोजनाले जनाएको छ । चिया रोप्दा माटो परीक्षण गराएर मात्र रोप्न आयोजनाले किसानलाई सल्लाह दिने गरेको छ । रासस

प्रतिकृया दिनुहोस