• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:29:11

माईजोगमाई गाउँपालिकाद्वारा गोलिया निकासीमा प्रतिबन्ध

सन्दकपुर संवाददाता
इलाम, २७ साउन :
इलामको माईजोगमाई गाउँपालिकाले आजदेखि आगामी असोज १५ गतेसम्म सो गाउँपालिकाबाट गोलिया निकासी गर्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाको गत शुक्रबार बसेको ३४औँ बैठकको निर्णय भएको जनाउँदै आजदेखि गोलिया निकासी बन्द गरिएको सूचना निकालिएको हो ।
उक्त सूचनामा गाउँपालिकाभित्रका मूल सडक, वडा कार्यालय जोड्ने सडक र शाखा सडकहरुमा हेभी गाडि तथा ट्याक्टरहरुलाई पनि सो अवधिमा सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको जनाइएको छ । त्यस्ता सवारी साधनहरु सञ्चालन गरे पहिलो पटक तीन हजार रुपैयाँ र दोस्रो पटकदेखि दोब्बर जरिवाना गरिने पनि सूचनामा जनाइएको छ ।
सूचनामा के कति कारणले यस्तो सुचना जारी गरियो भन्ने नखुलाइए पनि बर्षाद्को कारण ठूला सवारीलाई रोक लगाइएको र गोलिया ठूला सवारीबाटै निकासी गरिने भएकोले गोलिया निकासीमा प्रतिबन्ध लगाइएको बुझिएको छ । यसअघि माईजोगमाई गाउँपालिकाकै ४ नम्बर वडा कार्यालयले इलाम नपादेखि चारबरपिपल र घुमाउनेटार जाने बाटोमा ठूला सवारी नचलाउन सूचना गरेको थियो ।
वडाध्यक्ष गणेशकुमार राईका अनुसार सबै बाटोहरु कच्ची भएको र बर्षाद्को बेला त्यस्तो बाटोहरुमा ठूला सवारी साधन चल्दा सानो रकमले मर्मत सम्भार गर्नै समस्या हुनेगरि बिग्रने तथा बाटो बिग्रिएर साना सवारीसमेत चल्न नसक्ने समस्या आउने भएकोले त्यसो गरिएको हो । गाउँपालिकाको सूचनामा भनिएको छ– दैनिक उपभोग्य बस्तु र कृषिजन्य उत्पादन ओसारपसार गर्न हेभी गाडि प्रयोग गर्न परेमा नयाँबजार गुप्ती फिक्कल सडकबाट मात्र गर्न हुन अनुरोध गरिन्छ ।
 

प्रतिकृया दिनुहोस