• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:43:03

बाटोको छेउमा उभिएका पत्रकार भण्डारी मेटरसाइकलको ठक्करबाट घाइते

सन्दकपुर संवाददाता
इलाम, २७ साउन :
मोटरसाइकलको ठक्करबाट इलामका पत्रकार भगीरथ भण्डारी घाइते भएका छन् । शनिबार बिहान इलाम बजारको भानुपथमा (सानिमा बैङ्कअगाडि) बाटोको छेउमा साथीसँग गफ गर्ने क्रममा उभिएका सन्दकपुर दैनिकका ब्यवस्थापकसमेत रहेका पत्रकार भण्डारीलाई एक्कासी पछाडिबाट मोटरसाइकलले ठक्कर दिएको हो ।
इलामको बसपार्क नजिकै रहेको तमु होटलमा काम गर्ने कामदार भनिएका पाँचथरको फाल्गुनन्द गाउँपालिका १ निबासी १७ वर्षीय प्रताप श्रेष्ठले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको हो । श्रेष्ठले तीब्र गतिमा चलाएको मोटरसाइकलले भण्डारीलाई पछाडिबाट ठक्कर दिएर श्रेष्ठ भाग्न खोजेका थिए । ठक्कर दिएपछि लडेका श्रेष्ठ हतारहतार उठेर मोटरसाइकल लिएर भागेका भएपनि स्थानीय प्रत्यक्षदर्शीले हो हल्ला गरेर उनको मोटरसाइकल रोकेर नियन्त्रणमा लिएका थिए ।
२६ वर्षीय पत्रकार भण्डारीलाई इलाम अस्पतालमा प्राथमिक उपचारपछि झापाको बिर्तामोडस्थित पूर्णतुङ्ग बिर्तासिटी अस्पतालमा थप उपचारका लागि शनिबार नै लगिएको छ । उनको टाउको, कम्मर, तिघ्रा र खुट्टाको गोलिगाँठामा चोट लागेको छ । टाउकोमा निकै ठूलो चोट भएका कारण केही दिन राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।
मोटरसाइकल चालक श्रेष्ठ र उनले चलाएको मे९प ७४८४ नम्बरको मोटरसाइकल प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
श्रेष्ठले चलाएको मोटरसाइकल उनको होइन । उनी मोटरसाइकल सिकारु मात्र भएको र उनीसँग सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स पनि नभएको पाइएको छ । उनले चलाएको मोटरसाइकल उनी कार्यरत होटलमा बास बस्न अघिल्लो दिन आएका ग्राहकको हो । देऊमाई नगरपालिकास्थित जीतपुरको एक विद्यालयका शिक्षक तोयानाथ भट्टराईको मोटरसाइकल चलाउने क्रममा श्रेष्ठले भण्डारीलाई ठक्कर दिएका हुन् । होटलमा बसेका भट्टराईले श्रेष्ठलाई मोटरसाइकल चलाउन दिएका थिए ।
पत्रकार भण्डारीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस