• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:05:05

सूर्योदय नपाद्वारा लक्षित समुहका लागि ७४ लाख बिनियोजन

रोहितचन्द्र भट्टराई
इलाम, २१ साउन :
सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षमा लक्षित समूहका लागि ७४ लाख रुपैयाँ बिनियोजन गरेको छ । यो रकमका अलावा वडासमितिबाट वडावडामा पनि नगरपालिकाले लक्षित वर्गका लागि खर्च गर्ने रकम छुट्याएको छ । नगरपालिकाको तेस्रो नगरसभाले चालु आर्थिक वर्षमा खर्च गर्नेगरि उक्त बजेट बिनियोजन गरेको हो ।
नगरसभाबाट पारित नगर विकास योजनाका प्रमुख नीति तथा कार्यक्रमको १३औँ बुँदामा ‘समतामूलक समाजको आधार ः लैङ्गिक समानता तथा समावेशी विकासको प्रयास’ भन्ने नारासहित लैङ्गीक समानता तथा समावेशीकरण सम्बन्धी नीति समेटेर लक्षित समूहका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याइएको हो । नीति तथा कार्यक्रमको उक्त बुँदामा भनिएको छ– सामाजिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा पछि परेका महिला, बालबालिका, दलित, आदिबासी जनजाति, अपाङ्ग तथा उमेरका आधारमा निस्कृय अवस्थातर्पm उन्मुख ज्येष्ठ नागरिकलाई सकारात्मक बिभेदका आधारमा विकासमा सबैलाई सहभागी हुने अवसर प्रदान गरी समग्र विकास प्रक्रियामा सबै वर्ग, तह, क्षेत्र, समुदायको योगदानलाई साझा प्रयासमा समाहित गर्ने नीति अवलम्बन गरिनेछ ।
नगरपालिकाले सो नीति अन्तर्गत बालबालिकाका लागि पाँच लाख, महिलाका लागि ३५ लाख, आदिबासी जनजातिका लागि नौ लाख, अपाङ्गका लागि दुई लाख, दलितका लागि चार लाख, ज्येष्ठ नागरिकका लागि नौ लाख र सीमान्तकृतका लागि १० लाख रुपैयाँ छुट्याएको हो । उक्त रकमले लक्षित समूहका लागि तालिम, चेतनामूलक कार्यक्रम, सीममूलक तालिम, पूर्वाधार निर्माणजस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।
बालबालिकाका लागि छुट्याइएको पाँच लाख रुपैयाँले बौद्धिक अपाङ्गता भएका बालबालिकाको श्रोत केन्द्र बयवस्थापन गरिने लक्ष्य राखिएको छ । सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको स्रोत केन्द्र सञ्चालनमा रहेको छ ।
महिलाका लागि बिनियोजित रकम ३५ लाख रुपैयाँमध्ये हिंसापीडित महिलाहरूको लागि आवाशीय सीप विकास केन्द्र भवन निर्माणमा २५ लाख रुपैयाँ खर्च गरिने भएको छ । त्यसका अलावा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको प्रोत्साहन कार्यक्रम र महिला ढाका बुनाई एड्भान्स तालिममा दुई÷दुई लाख रुपैयाँ खर्च गरिनेछ । त्यस्तै महिला स्वास्थ्य शिविर सञ्चालन र महिला सिर्जना सभाहल निर्माणमा डेढ लाख रुपैयाँका दरले खर्च हुनेछ । एकल महिलाहरूको लागि अचार निर्माण तालिममा एक लाख रुपैयाँ, महिला बित्तीय साक्षरता कार्यक्रममा ७५ हजार रुपैयाँ, सुरक्षित गर्भपतन सम्बन्धी सचेतनाका लागि ५० हजार, महिला पुनस्र्थापना कार्यक्रममा पनि ५० हजार र महिला लक्षित कार्यक्रम अनुगमनका लागि २५ हजार रुपैयाँ छुट्याइएको छ ।
आदिबासी जनजातिका लागि बिनियोजित नौ लाख रुपैयाँबाट सो समूहका महिलाहरूको लागि ढाका बुनाई तालिममा तीन लाख, आदिबासी जनजाति महासंघको भवन निर्माणमा दुई लाख ५० हजार छुट्याइएको छ । त्यस्तै नृत्य प्रशिक्षण तथा बाजा खरिदका लागि ७५ हजार रहेको छ भने महिलाहरूलाई एड्भान्स ब्यूटीपार्लर वा बुटिक तालिम, आदिबासी जनजाति सम्बन्धी विद्यमान नीति कानुनहरूको प्रभावकारी कार्यान्वयन र सहभागिता बृद्धि तथा पैरबी सम्बन्धी क्षमता विकास कार्यक्रम, महासंघको पाँच वर्षे रणनीतिक योजनाको माध्यावधी मूल्याङ्कन एवम् संशोधन, सो समूहको साँस्कृतिक उत्सब र किराँत राई मुन्धुम सँस्कृतिको संरक्षण अभिलेखीकरण तथा प्रवद्र्धनका लागि ५० हजारका दरले बिनियोजन गरिएको छ । महासंघको वडास्तरीय समितिको वार्षिक मूल्याङ्कन अनुगमन तथा नियमनमा २५ हजार रुपैयाँ छ ।
अपाङ्गताका लागि रहेको दुई लाख रकमबाट सीपमुलक तालिम तथा आयआर्जन कार्यक्रममा एक एक लाख खर्च गरिने भएको छ । दलित वर्गको चार लाख रुपैयाँबाट दलित बस्तीमा सोलार जडानका लागि तीन लाख तथा परम्परागत पेशा आधुनिकीकरण कार्यक्रममा एक लाख रुपैयाँ खर्च गरिने भएको छ । त्यस्तै ज्येष्ठ नागरिकको नौ लाख रुपैयामध्ये ज्येष्ठ नागरिकको देशदर्शन भ्रमणका लागि पाँच लाख र उनीहरूको दिवा मिलन केन्द्र स्थापनामा चार लाख रुपैयाँ खर्च गरिने भएको छ ।
सीमान्तकृतका लागि रहेको १० लाख रुपैयाँ रकमबाट फुसको छाना प्रतिस्थापन कार्यक्रममा चार लाख रुपैयाँ खर्च गरिने भएको छ । त्यस्तै लाप्चा ग्राम स्थापना सञ्चालन सहयोगमा तीन लाख तथा लाप्चा भवन मर्मत अनि भाषा संस्कृति विकास कार्यक्रममा तीन लाख खर्च गरिने भएको छ ।

प्रतिकृया दिनुहोस