• शनिबार ५-२-२०७५/Saturday 08-18-2018
  • 10:46:47

प्राकृतिक सुन्दरताको अनुपम दृश्य हेर्ने थलो छिन्टापु

इलामका उत्कृष्ट पर्यटकीय गन्तब्यहरूमध्ये समुद्री सतहबाट करिब ३२०० मिटरको उचाइमा अवस्थित एउटा मनोरम स्थान, जैविक विविधता र प्राकृतिक सम्पदाहरूको बेजोड समायोजनको स्थल–प्रकृतिको उपहारका रुपमा पाँचथर र इलामको माईमझुवा गाविसको सीमा क्षेत्रमा अवस्थित छिन्तापुलाई लिइने गरिन्छ । फागुन, चैत र बैशाख महिनामा थरिथरिका गुराँसहरू फुलेर छिन्तापु क्षेत्रलाई नै रमणीय बनाउँछ । छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बतासले आगन्तुकहरूसँग लुकामारी खेल्दछ । प्राकृतिक सुन्दरताको अनुपम दृश्य हेर्ने अवसर छिन्तापु जानेहरूलाई नै प्राप्त हुन्छ । छिन्तापुको अर्को आकर्षण भनेको हिमश्रृङ्खलाहरूको जीवन्त दृश्यावलोकन हो । कञ्चनजङ्घा, कुम्भकर्ण, सगरमाथा लगायतका नेपाल, भारत र भुटानका हिमालश्रृङ्खलाहरूलाई नजिकैबाट अङ्गालो हाल्न सकिएला जस्तो गरी धित मरूञ्जेल हेर्न सकिन्छ ।
यतिमात्र होइन । सीमापारी सिक्कम, दार्जिलिङ, इलाम जिल्लाको अधिकांश भूभाग, तराईका फाँट, इलाम, पाँचथर र ताप्लेजुङका मिलेका होचा अग्ला डाँडाकाँडा र बस्तीहरूको रमणीय अवलोकन रहेको छ । लालीगुराँसको निकै ठूलो घना जङ्गल, रेडपाण्डा, थार, चराचुरुङ्गी, जडिबुटी र सुन्दर भौगोलिक बनावटको अवलोकन छिन्तापुबाट जति सहज र रमणीय तवरले पाउन सकिन्छ सायदै अरु ठाउँबाट पाइएला । छिन्तापुकै डाँडामा दुईवटा सुन्दर पोखरीहरू रहेका छन् । यसले यहाँको सौन्दर्यतालाई अभैm थपेको छ । छिन्टापुभन्दा केहि तल तालपोखरी, डढेली पोखरी, हाँसपोखरी लगायतका आधा दर्जन पोखरी, छाँगे झर्ना, धप्पर लगायतका दृश्यावलोकनका लागि उत्कृष्ट स्थलहरू समेत रहेका छन् । यसका साथै माईमझुवाकै वडा नं. ७ मा अवस्थित फुस्रे पोखरी अर्को रमणीय स्थलका रुपमा रहेको छ । माईमझुवामा राई तथा गुरूङ जातीको संस्कृति र परम्पराको समेत अवलोकन गर्न सकिन्छ । बसोबासका लागि होमस्टे तथा ग्रामीण बजार बुधबारे हटियामा सामान्य होटलहरू रहेका छन् । छिन्टापुसम्म जानका लागि इलामकै माईपोखरी हुँदै माईमझुवाको बुधबारे गोरुवालेसम्म गाडिमा गएर दुई घण्टाको पैदल मार्गको प्रयोग गर्न सकिन्छ । माईपोखरीबाट सिधै पैदल जान समेत सकिन्छ भने माईमझुवाकै वडा नं. ५ स्थित शेर्पेगाउँ हुँदै पैदल ५ घण्टामा छिन्टापु पुग्न सकिन्छ । माईमझुवालाई इलाम सदरमुकाम बिब्ल्याँटे–माईपोखरी हुँदै कच्ची मोटरबाटोले जोडेको छ । (साभारः इलामको पर्यटन ब्यवस्थापन गुरुयोजना)

प्रतिकृया दिनुहोस