• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:05:15

एक करोड ३५ लाखको विद्युत आयोजना ठेक्का नै लागेन

रोहितचन्द्र भट्टराई
माईपोखरी, ३२ असार
: इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न गर्ने गरि बजेट बिनियोजन गरेको सबैभन्दा ठूलो एउटा विद्युत योजनाको काम नभई आर्थिक वर्ष सकिएको छ । गाउँपालिकाका सबै (पाँचवटा) वडाहरुमा विद्युत बिस्तारको लागि एक करोड ३५ लाख रुपैयाँ बजेट छुट्याइएको उक्त योजनाको रकम खर्च नभएको हो ।
गाउँपालिकाको कार्यालयले विद्युत योजनामा ठेक्का नै नलागेपछि काम गर्न नपाईएको बताएको छ । विद्युतीय पोल, तार लगायतका सामानको दाम अत्याधिक बढेकोले गर्नु पर्ने कामका लागि चाहिने परिमाणका सामान किन्न ठेक्का अङ्क (बजेट)ले नधान्ने अवस्था आएर ठेक्का लाग्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले सन्दकपुर दैनिकलाई बताए ।
गाउँपालिकाका प्राविधिक कर्मचारी राजकुमार यादवका अनुसार गएको चैत महिनामा सो योजनाका लागि ठेक्का आव्हान गरिएको थियो । ठेक्का नपरेको भने होइन । यादवले भने, ‘दुईवटा फर्मले ठक्का हालेका थिए । त्यो मध्ये एउटा ठेक्का अंकभन्दा बढी रकम राखेर भरिएको थियो । एउटा कम रकममा भरेको फर्मको नियमानुसारको कागजात नै थिएन ।’
उनका अनुसार एउटा फर्मले एक करोड २५ लाख रुपैयाँ हालेकोले नपरेको हो । ठेक्का आव्हान गर्दा गाउँपालिकाले एक करोड १४ लाख रुपैयाँ ठेक्का अङ्क तोकेको थियो । त्यस्तै अर्को फर्मले एक करोड एक लाख रुपैयाँमा काम गर्न ठेक्का हालेको थियो । तर उसको कागजात नपुगेपछि स्वीकृत हुन सकेन । 
प्राविधिक कर्मचारी राजकुमार यादवले भने, ‘हामीले इबिडिङ खोलेका थियौँ । फर्म हार्ड कपी पनि पनि थिए कार्यालयमा तर एउटा पनि बिकेन । इबिडिङमा दुईवटाले भरेका हुन् । थोर रकम हाल्नेले कागजात केही राखेको थिएन ।’ फलामको दर बढेका कारणले ठेक्का लाग्न नसकेको यादवको भनाई थियो । 
उनका अनुसार समय कम भएकाले पुनः दरअनुसार बजेट अनुमान (रेट एनालाइसिस) गरेर अर्को ठेक्का निकाल्न नसकिने भएकाले आगामी बर्षमा काम गर्नेगरि थाँति राखिएको छ । उनले भने, ‘समय कम भयो, असारमा काम गर्दा खासै केही हुँदैन । त्यही भएर आगामी बर्षमा गर्नेगरि राखिएको छ ।’ उनले भनेअनुसार आगामी आवमा दुई करोड बराबरको योजना बन्ने छ । 
यादवका अनुसार उक्त विद्युत योजनामा वितरण लाइनका लागि ५१० वटा एलटी पोल र हाइटेन्सन लाइनका लागि ७४ वटा एसटी पोल गाडेर त्यसमा लाग्ने तार टाँग्ने काम थियो । विद्युत योजनाको ठेक्का नलागेपछि गाउँपालिकाले मन्त्रालयसम्म जानकारी गराउँदा रेट कमिटीको बैठक बसेर बजारअनुसारको रेट बनाएर आगामी बर्ष योजना सम्पन्न सुझाव आएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए ।

प्रतिकृया दिनुहोस