• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:05:14

इलाममा छ हजार नौसय ९५ वटा चियाबगान

सन्दकपुर संवाददाता
इलाम, २९ असार :
इलाममा निजी, संस्थागत र सरकारी गरि जम्मा छ हजार नौसय ९५ वटा चियाबगान रहेको पाइएको छ । यसलाई हेर्दा नेपालभर चिया हुने जिल्लामध्ये सबैभन्दा बढी बगान इलाममा छ ।
नेपालका विभिन्न जिल्लामा गरी एक हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती हुने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणले उक्त कुरा देखाएको हो । 
नौ हजार दुई सय ३६ किसानमध्ये नौ हजार एक सय २७ ले ब्यक्तिगत रुपमा र एक सय आठ जनाले संस्थागत रुपमा चिया खेती गर्ने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । सबै भन्दा बढी झापामा सात हजार एक सय ९५ दशमलब १५ हेक्टरमा र सबै भन्दा कम मोरङमा २५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ ।
शुक्रबार सर्वेक्षण नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले सबैभन्दा धेरै झापामा आठ करोड २५ लाख १७ हजार मेट्रिक टन र सबै भन्दा कम भोजपुरमा एक दशमलब आठ मेट्रिक टन हरियो चिया उत्पादन हुने बताए । हरियो पत्ति बिक्रीबाट किसानहरूले वर्षमा एक अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ प्राप्त गर्ने गरेको पाइएको छ ।
११ हजार ४१ वटा चिया बगानमध्ये इलाममा सबै भन्दा धेरै छ हजार नौ सय ९५ र सिन्धुपाल्चोकमा सबैभन्दा कम आठ वटा चिया बगान रहेको सर्वेक्षणले देखाएको छ । परम्परागत रुपमा चिया खेती गर्ने किसानहरूको सङ्ख्या अझै ठूलो रहेको छ । 
जम्मा ११ प्रतिशत कृषकले मात्रै अर्गानिक चिया खेती गर्ने गरेको पाइएको छ । ५९ प्रतिशतले परम्परागत रुपमा चिया उत्पादन गर्ने गरेका छन् । सर्वेक्षणबाट यस ब्यवसायमा संलग्न सञ्चालक र परिवारको सदस्यहरू १८ हजार एक सय ८० जना देखिन्छन् ।
ब्यवसायिक चिया खेतीमा तीन हजार दुई सय ४४ जना स्थायी र ३० लाख ९५ हजार दुई सय ८४ जना अस्थायी कामदार संलग्न रहेको पाइएको छ । सर्वेक्षणले चिया खेती गर्ने व्यवसायीहरूमध्ये ८५ दशमलब ५ प्रतिशतमा प्रमुख सञ्चालक पुरुष र १४ दशमलब ५ प्रतिशतमा प्रमुख सञ्चालक महिला रहेको देखाएको छ ।
सर्वेक्षणले जम्मा चार दशमलब पााच प्रतिशतले चिया खेती ब्यवयास दर्ता गरेको, पाँच प्रतिशतले खेतीका लागि ऋण लिएको देखाएको छ । चिया खेतीलाई कृषि अन्तर्गत नराखिएको र ऋणको सुविधा पनि प्राप्त नभएकाले त्यसतर्फ व्यवसायीहरू आषिर्त हुन नसकेको निष्कर्ष विभागले निकालेको छ ।
त्यसैगरी व्यवसायिक चिया खेती गर्ने किसानमध्ये ५३ दशमलब ५ प्रतिशतको मुख्य आयको स्रोत नै चिया खेती रहेको पाइएको छ । ९५ प्रतिशत व्यवसायीले आफ्नै जग्गामा चिया खेती गरेका छन् ।

प्रतिकृया दिनुहोस