• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:29:59

चुरेमा बहुमुल्य बनस्पति अगरको बृक्षरोपण  

विजयशेखर भट्टराई
इलाम, २९ असार :
इलामको दक्षिणी क्षेत्रमा पर्ने चुरे वन क्षेत्रमा बहुमूल्य वनस्पति अगरउडको बृक्षरोपण शुरु गरिएको छ । जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रमअन्तर्गत यो वर्ष एक हजार आठ सय अगरउड जातको वनस्पति विभिन्न सामुदायिक र निजी वनमा रोपण शुरु गरिएको हो । 
माई नगरपालिका वडा नम्बर ३ मा रहेको बगैँचास्थित सिर्जना सामुदायिक वनमा आठ सय अगरउडका विरुवा रोपिएको छ । कार्यालयका सहायक वन अधिकृत गोपाल भट्टराईका अनुसार जिल्ला वन कार्यालयले प्रतिविरुवा तीन सय २० रुपैयाँका दरले विरुवा उपलव्ध गराएको हो ।
वन समूहले विरुवा रोपण गरिएको क्षेत्रमा घेराबारा र विरुवा संरक्षणका लागि टोकरी निर्माण गरेको हो । विरुवा रोपिएको क्षेत्रमा जिल्ला वन समन्वय समितिका पदाधिकारीले अनुगमन गरेका थिए । सिर्जना बाहेक दक्षिणी इलामकै वसन्त सामुदायिक वनमा तीन सय अगरका विरुवा रोपिएको छ । 
यसैगरी दक्षिणी सेक्टर वन कार्यालयमार्फत स्थानीयलाई थप दुई सय विरुवा वितरण गरिएको छ । रोङ गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीयलाई पनि निःशुल्क चार सय ५० विरुवा उपलव्ध गराईएको हो । रोङकै निजी वनमा थप ५० विरुवा लगाइएको पाइएको छ । 
चुरे क्षेत्रमा अगरउडको सम्भावनालाई मध्यनजर गरी बृक्षरोपण गरिएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । उनले अगरउड वनस्पति रैथाने नभएपनि भुटानी शरणार्थी आगमनपछि केहि क्षेत्रमा लगाइएको पाइएको जानकारी दिए । वन पैदावारको श्रोत वढाउन र बहुमूल्य उपयोगी वनस्पति भएकाले यसलाई संरक्षणको थालनी भएको हो । 
के हो अगरउड ? 
अगरउड सदावहार र गैर काष्ठजन्य एवम् चाँडो बढ्ने वनस्पति हो । दक्षिणी सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ऋतेशबाबु बस्नेतले यो वनस्पति पूर्वी एशीयाका बढी गर्मि हुने क्षेत्रमा रैथाने रुपमा रहेको बताए । उनले अगरउडको बोटमा एक प्रकारको ढुसी हालेपछि गाढा खैरो र कालो भाग उत्पादन हुने र यो सुगन्धित पदार्थलाई नै महङ्गो मूल्यमा बिक्री गर्न सकिने बताए । 
खोटो र चोप भएको यस्तो काठको चोइटालाई नै अगरउड भनिन्छ । हामीले प्रयोग गर्ने सिन्केधुपको नाम अगरबत्ति हुनमा अगरउडको सम्बन्ध रहेको बताइन्छ । अगरउड एक लाख डलर रुपैयाँ सम्म प्रतिकिलो बिक्रि हुने बताइन्छ । छिटो बढ्ने वनस्पति भएकाले आठ दश वर्षमा नै यसको उत्पादन लिन सकिने विज्ञहरुको भनाई छ । 
समुद्र सतहदेखि एक हजार पाँच सय मिटरसम्मको भूभागमा यसको रोपण उपयुक्त हुने बताइएको छ । विरुवा रोपेको सातदेखि दश वर्ष पछाडि समय समयमा ढुसी प्रविधि प्रयोग गरी एक रुखबाट तीनदेखि पाँच किलोसम्म अगरउड उत्पादन हुन सक्छ । 
अगरउड वनस्पतिलाई साइटीस महासन्धीले संरक्षित गरेको पाइन्छ । यस वनस्पतिलाई निजी वन क्षेत्रमा बिस्तार गरि आय आर्जनको श्रोतको रुपमा विकास गर्न सकिने बताइन्छ । नेपालमा गजुरमुखी हर्वल प्रालि लगायतका केहि संस्थाले पनि अगरउड खेतीमा प्राविधिक परीक्षण गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस