• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:13:25

इलामका नागरिककर्मी चापागाइँसहित तीन पत्रकार पुरस्कृत

सन्दकपुर संवाददाता
इलाम, २८ असार :
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले प्रदेश नम्बर १ का तीन जना पत्रकारहरुलाई बुधबार पुरस्कृत गरेको छ । पुरस्कृत हुने पत्रकारहरुमा इलामबाट नागरिक दैनिकमा कार्यरत भीम चापागाई, विराटनगरका अभय राई र उर्लाबारीकी ज्योति चौहान छन् । 
सहकारी संस्थाले सातौँ स्थापना दिवसका अवसरमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकारत्रयलाई पुरस्कार प्रदान गरेका हुन् । चापागाईलाई नगद ३१ हजार राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार २०७५, राईलाई २१ हजार राशीको मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल श्रमजिवी पत्रकारिता पुरस्कार २०७५ र चौहानलाई नगद १० हजार राशीको मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार २०७५ ले पुरस्कृत गरिएको हो । 
कार्यक्रममा ओमप्रकाश गोयल पुरस्कारको राशि आगामी वर्षदेखि ५१ हजार रुपैयाँ पु¥याईने घोषणा जानकारी दिइयो । सञ्चारकर्मी सहकारीका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले पुरस्कृत पत्रकारले मुलुकको समृद्धि प्राप्तिमा मद्दत पुग्ने ढंगले कलम चलाउने बताए । 
विगतमा राष्ट्रिय समाचार समिति पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा समाचारदाता रुपमा कार्यरत रहनुभएकी मीना श्रेष्ठले पूर्वाञ्चल क्षेत्रमा कार्यरत महिला पत्रकारलाई प्रदान गर्ने गरी विसं २०७२ मा एक लाख २५ हजार रकमको अक्षयकोष स्थापना गरेकी थिइन् । श्रेष्ठ हाल अमेरिकामा बसोबास गरिरहनुभएको छ । समाजसेवी दिनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको नाममा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

प्रतिकृया दिनुहोस