• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:31:07

इलाम बजारमा गीताङको पानी थपिने

विजयशेखर भट्टराई
इलाम, २८ असार :
इलाम बजार र आसपासका क्षेत्रमा खानेपानी समस्यालाई थेग्न थप पाइपलाइन विस्तार सम्पन्न भएको छ । पाइपलाइन विस्तार पछि आगामी हप्ता भित्रमा भाँडीखोला इन्टेकमा थप पानी आपुर्ति गरिने र इलाम बजारमा खानेपानी आपुर्ति केहि वर्षका लागि सहज हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामले जनाएको छ । 
खानेपानीको चरम समस्या झेलिरहेका इलामबासीको समस्या थेग्न गीताङ खोलाको मुहानदेखि थप १८ किलोमिटर पाइपलाइन बिस्तार भएको हो । गीताङदेखि थप १८ किलोमिटरमा १८०, १६० र १४० एमएमका पाइप बिछ्याएर भाँडीखोलासम्म ल्याइएको छ ।
उक्त पाइपलाइनबाट थप १६ लिटर प्रतिसेकेण्डका दरले खानेपानी आपुर्ति हुने डिभिजन कार्यालयका डिभिजन इञ्जिनियर मोतिउर रहमानले जानकारी दिए । उनले केहि किलोमिटर निर्माण बाँकी रहँदा गरिएको परिक्षणमा पनि प्रतिसेकेण्ड १३ लिटरका दरले पानी झरेको जानकारी दिए । 
केहि वर्षअघि देखि नै उक्त पाइपलाइनको निर्माण शुरु भएपनि अधकल्चो भएका कारण खानेपानी आपुर्तिमा समस्या देखिएको थियो । चालु वर्षमा एक करोड ३५ लाख बजेटमार्फत पाइपलाइन सुधार गरी भाँडी खोलामा खानेपानी थप गर्न लागिएको हो । उक्त बजेटमार्फत पाइप खरिद र फिटिङका सामग्री खरिद गरिएको थियो । 
भाँडीखोलादेखि इलाम सदरमुकाम सम्म पुरानै पाइपलाइनबाट पानी आपुर्ति हुने भएको छ । हाल मान्द्रेनी खानेपानी आयोजनाको पानी मिसाएर इलाम बजार लगायतका क्षेत्रमा आपुर्ति गरिएको रहमानले बताए । 
जिल्लामा सञ्चालित विभिन्न खानेपानी आयोजनाहरु पर्याप्त बजेटको समस्याले क्रमागत रुपमा सञ्चालन भइरहेको उनले बताए । चालु वर्षमा १५ करोड २८ लाख ९५ हजार विभिन्न आयोजनामा खर्च भएको छ । कार्यालयमार्फत जम्मा ४९ वटा खानेपानी योजना निर्माण भइरहेकोमा ४७ वटा आयोजना क्रमागत रुपमा निर्माण भएका छन् । ती योजना अन्तर्गत जम्मा ६४ वटा स्कीम असार मसान्तभित्रमा सम्पन्न हुने कार्यालयले जानकारी दिएको छ । 
असार मसान्तभित्रमा जिल्लामा थप तीनसय २२ वटा सार्वजनिक धारा एक हजार ३० निजी धारा र २८५ किलोमिटर ट्रान्समिसन र वितरण लाइन बिस्तार भइसक्ने भएको छ । यस्तै ५४ वटा इन्टेक निर्माण र ५९ वटा पानी पोखरी निर्माण भइसक्ने भएको छ । यो वर्षभित्रमा २४ हजार ६ सय जनसङ्ख्या खानेपानीबाट लाभान्वित हुने पनि बताइएको छ । 
जिल्लामा गिताङबाहेक खानेपानीका मुख्य निर्माणाधिन योजनाहरुमा मान्द्रेनी बरबोटे, चुलाचुली, जोगमाई, पञ्चकन्या कन्याम लक्ष्मिपुर, जिर्मले, शान्तिपुर नेहित, माईपोखरी, धुसेनी मङ्गलबारे, दानाबारी लगायतका आयोजना रहेका छन् । चालु वर्षमा खानेपानी आयोजनाअन्तर्गत दुई करोड २४ लाख ६० हजार स्थानीय तहमा सशर्त अनुदानबाट रकम हस्तान्तरण भएको थियो ।

प्रतिकृया दिनुहोस