• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:12:29

गायक प्रकाश बस्नेतले खोले राँकेमा सुविधासम्पन्न होटल

सन्दकपुर संवाददाता
इलाम, २७ असार :
इलाम र पाँचथरको सिमावर्ती बजार राँकेमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । मेची राजमार्गमा खोलिएको चामु होटलको मङ्गलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल, बुद्धिजीवि युद्ध बैद्य, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले, मानवअधिकारकर्मी सूर्यकुमार निरौला समेतले होटलको उद्घाटन गरेका हुन् । 
रोजगारीका लागि करिब तीन वर्ष कोरियामा बिताएका कोरीयन भाषा प्रशिक्षक समेत रहेका इलामको देऊमाई नगरपालिका १ चमैता निबासी प्रकाश बस्नेतले होटलमा लगानी गरेका हुन् । तीन करोड १५ लाखको लगानीमा स्थापित होटलमा लगानी गरेका बस्नेतले होटल सञ्चालनमा तत्काल पाँच जनालाई रोजगारीको ब्यवस्था भएको बताए । 
उनले राँकेमा होटल सञ्चालनमा आएपछि देउमाई नगरपालिका क्षेत्र, पाँचथर र आसपासका क्षेत्र र ताप्लेजुङ पाथीभरा जाने तीर्थयात्रीलाई समेत सहज ङपमा खान र बस्नको सुविधा उपलव्ध गराउने बताए । होटलमा कार्यक्रम सञ्चालनका लागि हलसहित डिलक्स कोठाहरू रहेका छन् । एक हजारदेखि दुई हजार पाँचसय रुपैयाँसम्म प्रतिदिन लाग्ने डिलक्स कोठा दश वटा रहेका छन् । स्थानीय अर्गानिक खानाका परिकारलाई होटलले प्राथमिकतामा राखेको सञ्चालक बस्नेतले जानकारी दिए । सञ्चालक बस्नेत इलामका चर्चित लोकगायक समेत हुन् ।
देउमाई नगरपालिका १ का वडाध्यक्ष माधव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रमा होटल व्यवसाय अपरिहार्य भएको र पर्यटकहरूलाई सुविधा उपलब्ध गराउन जुट्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस