• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018
  • 08:30:07

तरकारी व्यापारबाट मनग्यै आम्दानी गर्दै इलामका महिलाहरु

तरकारी खेती र व्यापारबाट इलाम नगरपालिका २ की विष्णुमाया खड्का क्षेत्री सन्तुष्ट हुनुहुन्छ । विष्णुमायाले व्यक्तिगत खर्चका लागि परिवारका अरु कसैको भर गर्नुपर्दैन । 
उहाँले व्यावसायिक रुपमा तरकारी खेतीका साथै तरकारी व्यापार गरेर इलामको सेरामा घडेरी किनिवरी दुई तले पक्की घरसमेत बनाइसक्नु भएको छ । विष्णुमाया ७१ वर्षको हुनुभयो । खेती र व्यापार गर्न थालेको ३५ वर्ष भयो । घरमा त्यसै बस्नु भन्दा व्यापार गर्नुमा नै मन रमाउने बताउनु हुन्छ विष्णुमाया । उहाँले भन्नुभयो, ‘व्यावसायिक तरकारी व्यापारबाट भएको आम्दानी घरखर्चलाई मात्रै होइन, बचत समेत गर्दै आएकी छु ।’
भाडाको घरमा बसेर सदरमुकाममा जिविकोपार्जन गर्दै अघि बढेकी विष्णुमायाले व्यवसायिक तरकारी खेती र व्यापार दुई हजार रुपैयाँबाट सुरु गर्नुभएको थियो । 
‘जुनसुकै काम निरन्तर गरे केही हुने रहेछ, ठिकठिकै कमाई हुन थालेपछि परिवारका सबैजना खुसी छन्,’ विष्णुमायाले लामो समयदेखिको व्यावसायिक अनुभव सुनाउनुभयो ।
पहिले खेतिपाती पनि गर्ने विष्णुमाया अहिले तरकारी व्यापारमा मात्रै गर्नुहुन्छ । त्यसैमा उहाँलाई भ्याइनभ्याई छ । आलु, बोडी, स्कुसको मुन्टा, फर्सीको मुन्टा, केरा, काँक्रा लगायतका सागसब्जी र फलफूल राखेर दिनभर उहाँ बजारमा बस्नुहुन्छ । यसैको बिक्रिबाट वार्षिक दुई देखी तीन लाख रुपैयाँसम्म कमाई हुने उहाँले बताउनुभयो । 
व्यावसायिक तरकारी व्यापारबाट जीवनस्तरमा परिवर्तन गर्ने विष्णुमाया एक्ली होइनन । इलाम सदरमुकाममा उहाँजस्ता धेरै महिलाले आयस्ताका लागि तरकारी व्यापार रोजेका छन् । माइजोगमाई ५ सोयाङ्गकी लक्ष्मी घिमिरे राई तरकारी व्यावसायबाट नै आत्मनिर्भर भएको बताउनुहुन्छ । १० हजार रुपैयाँबाट सुरु गरेको तरकारी व्यापारमा अहिले दैनिक ७० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको उहाँले सुनाउनुभयो । 
तरकारी व्यापारबाट भएको आम्दानीले घर खर्च टार्न र बचत गर्न सकिएको राईले बताउनु भयो । विदेश जाने तयारीमा लागेका श्रीमान् पनि व्यापारबाट कमाई हुन थालेपछि यतै बस्नुभयो । छोराछोरी सदरमुकाममा नै राखेर पढाउँदै गरेकी लक्ष्मीले भन्नुभयो, ‘अहिले श्रीमानले गाउँमा तरकारी फलाएर बजारसम्म ल्यादिनुहुन्छ ।’ 
एकाबिहानै डोकोमा तरकारी र हातमा दूधका क्यान बोकेर नँयाबजारका घर, पसल पसलमा आफै बिक्री गर्दै आएकी लक्ष्मी जिल्लाको सफल महिला कृषक समेत हुनुहुन्छ । विचौलियालाई दिनु भन्दा आफै खटेर व्यावसाय गर्दा फाइदा हुन्छ भन्ने थाहा पाएपछि उहाँले तरकारी व्यावसाय सुरु गर्नुभएको हो ।
लक्ष्मीले व्यापारबाट भएको कमाईबाट सदरमुकाममा चार आना घडेरी किन्नुभएको छ । लक्ष्मी  भन्नुहुन्छ, ‘तरिका र्पुयाउन जानियो भने विदेश जानु नपर्ने रहेछ । धेरै पढ्नै पर्छ भन्ने छैन । ५ कक्षा पढेकी मलाई लाखौंको हिसाबकिताबमा समेत झुक्याउन कसैले सक्दैन ।’
सन्दकपुर गाउँपालिका १ की जुनिता राई पनि तरकारी व्यावसायमा सफल हुन संघर्ष गरिरहनु भएको छ । ६ सयबाट सुरु गरेको जुनिताको व्यापार अहिले दैनिक ४० हजार रुपैयाँसम्मको कारोबार हुन्छ । 
इलाम बजारमा ८ वर्षदेखि तरकारी व्यापारीका लागि व्यापार गर्ने अलग्गै ठाउँ तोकिएको छ । बिहीबार र आइतबार बजार लाग्ने भएकोले हिँड्नै हम्मेहम्मे पर्ने गरी घुँइचो हुन्छ । बजारमा पुरुष भन्दा महिला व्यापारी धेरै छन् । 
तरकारी व्यापारका लागि सदरमुकाममा झण्डै ८ रोपनी जग्गा तरकारी व्यापारका लागि छुट्याइएको इलाम नगरपालिका कार्यालयकी सूचना अधिकारी सीतादेवी खवासले जानकारी दिनुभयो । 
इलाममा सोयाङ्ग, नाम्सालिङ्ग, गोदक, माइपोखरी, सुम्बेक, सुलुबुङ्ग, नेपालटार, चमैता र झापा जिल्लाबाट लाखौँ रुपैँयाका तरकारी भित्रिने गरेको छ । त्यसै ठाउँका महिलाका साथै झापा र पाँचथरका महिला पनि व्यवसायिक तरकारी व्यवसायमा लागेका छन् । 
मौसमी तथा बेमौसमी तरकारी खेती सँगसँगै व्यापारबाट आयस्तर बढेसँगै महिला सशक्तीकरणमा समेत सघाउ पुगेको छ । आयआर्जनको बलियो माध्यम बन्दै गएको र व्यापारका लागि बेग्लै बजारको व्यवस्था भएका कारण जिल्लामा व्यवसायिक तरकारी व्यवसायमा महिलाको आकर्षण बढ्दै गएको छ । इलाम नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिहरुले पनि व्यवस्थित व्यापारिक स्थल बनाउन पहल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस