• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:33:30

डीडीसी छाडेर निजी डेरीमा दूध बेच्छन् किसान

डीडीसीले स्थानीय लगानीकर्तासँग प्रतिस्पर्धा गर्न नसक्दा कतिपय चिस्यान केन्द्र नै उठाउने अवस्थामा पुगेका छन्। दूधबाट बन्ने परिकारको माग बढेपछि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएका छन्। लामो समयदेखि सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले राम्रो मूल्य दिन थालेपछि डीडीसीसँगको नाता तोड्न थालेका हुन्।

 सूर्योदय नगरपालिकाको तीनखुट्टेमा रहेका लक्की डेरीले अहिले दैनिक एक हजार पाँच सय लिटर दूध प्रशोधन गर्छ। किसानले निजीस्तरबाट खुलेको लक्कीमा दूध बिक्री गर्छन्। तीन किलोमिटरभन्दा माथि रहेको डीडीसीकै पशुपतिनगर चिज उद्योगले दूध नपाएर करिब ११ किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट खरिद गर्ने गरेको छ।

डीडीसीले स्थानीय लगानीकर्तासँग प्रतिस्पर्धा गर्न नसक्दा कतिपय चिस्यान केन्द्र नै उठाउने अवस्थामा पुगेको डीडीसी स्रोतले जानकारी दिएको छ। प्रतिस्पर्धात्मक क्षमता कम भएकाले डीडीसीले पुरानो साख गुमाउँदै गएको इलाम नगरपालिका ४ मलातेका उज्यालो कृषि सहकारीका अध्यक्ष विष्णु दुलालले बताए। इलामको पूर्वीक्षेत्रको अधिकांश दूध निजी उद्योगले लिन सुरु गरेको सूर्योदय नगरपालिका ४ को जनहित कृषि सहकारीका अध्यक्ष गोपाल भट्टराईले जानकारी दिए।

मलातेका विष्णु दुलाल आफै स्थानीय सहकारीबाट दूध खरिद गरेर खुवा, छुर्पी र घिउ बनाउँछन्। गुणस्तरका आधारमा उनले प्रतिलिटर ६० रुपैयाँसम्ममा दुग्ध खरिद गर्ने गरेका छन्। दैनिक पाँच सय लिटर प्रशोधन गर्ने उनले स्थानीय सहकारीलाई पनि प्रतिलिटर एक रुपैयाँ कमिसन दिने गरेका छन्।

सूर्योदय नगरपालिका बरबोटेका दिनेश महतले पनि दैनिक दुई हजार पाँच सय लिटर दूध खरिद गर्ने गरेका छन्। उनले डीडीसीको भन्दा बढीमै दूध खरिद गर्ने गरेका छन्। निजी कारखानाले चिज, छुर्पी, घिउ, पनिर, ललिपप, बम्बैसनलगायत परिकार बनाउने गरेका छन्।

इलाममा चिजका २५, ललिपप १३ र छुर्पीका उद्योगले जिल्लामै दूध प्रशोधन गर्ने गरेका छन्। सुगम क्षेत्रको दूध डीडीसी र निजी डेरीमा बिक्री हुने गरेको पशु सेवा कार्यालय इलामका डा. पशुपति ढुंगानाले बताए। इलाममा दैनिक एक लाख २० हजार लिटर दूध व्यावसायिक रूपमा उत्पादन हुने गरेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस