• शनिबार ३-९-२०७५/Saturday 06-23-2018
  • 06:27:06

निजी आवादीको गोलिया निकासीको कारोबार बढ्यो

२०४५ सालदेखि वर्षेनी निर्यात भइरहेका नीजि आवादीका गोलिया इलामका किसानको लागि नगदेबालीसरह आम्दानीको श्रोत बनिरहेको 
छ । प्लाइउड बनाउने भेनियर उद्योगका लागि आवश्यक उत्तीस, चिलाउने, मलातो, मौवा लगायतका नरम काठ भएका रुख यहाँ पाखोबारीबाटै बिक्री हुने गरेको छ । गएको वर्षमा मात्र १४ करोड २१ लख ६२ हजार सात सय ९० रुपैयाँ बराबरको गोलिया निजी आवादीबाट निकासी भएको जिल्ला वन कार्यालय इलामले जनाएको छ ।
आर्थिक वर्ष २०७३।०७४ मा  किसानले बेचबिखन गरेको निजी आवादिको गोलियाबाट मूल्य अभिबृद्धि कर मार्फत तीन करोड ९५ लाख ९० हजार जम्मा भएको छ । यस्तै निजी आवादी, जिल्ला वन पैदावार आपुुर्ति समिति र सामुुदायिक वन विकासबाट निकासी भएको  २६ लाख ६६ हजार चार सय २३ क्युविक फिट गोलिया मार्फत ६ करोड ३९ लाख ५० हजार पाँच सय ५५ रुपैया राजश्व जम्मा भएको पाइएको छ ।  निजी आवादीका रुख कटानका लागि स्थानीय तहको सिफारिस, जग्गाको नक्शा लगायतका कागजात तयार गर्नुपर्ने भएकाले यस्तो झण्झटिलो प्रकृया अन्त्य हुनुपर्ने व्यवसायी र किसानले औँल्याएका छन् । 
इलाम जिल्लाको भू उपयोग तथ्याङ्क अनुसार ९३ हजार आठ सय ४९ हेक्टर क्षेत्रफलमा वन जङ्गल रहेको छ । यो जिल्लाको कुल क्षेत्रफलको करिब ५५ प्रतिशत हुन आउँछ । यहाँ सरकारद्वारा संरक्षित वन, सामुदायिक वन, धार्मिक वन र निजी वन रहेको छ । निजी दर्ता भएका वन बाहेक सर्वसाधारणले आफ्नो पाखाबारी खेतमा लगाएका निजी वनको भने यकिन तथ्याँक पाइँदैन । जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले काठजन्य वन्य पदार्थमा भ्याट लाग्ने व्यवस्था अनुसार निजी नम्बरी आवादिका काठमा पनि सोही अनुसार भइरहेको बताए । उनले निजी आवादीका वन जङ्गलमा भएका गोलिया धान, मकै वा अन्य नगदेबालीसरह बिक्री गर्न पाउनुपर्ने माग उठिरहेको भएपनि रुख काट्नु हँुदैन, वातावरण बिग्रन्छ भत्रे समाज पनि एकातिर रहेको बताए । पाखा वा बारीमा आफैँ उम्रिएका वा रोपेर हुर्काएका रुख दश वा १५ वर्ष भित्रमा बेच्न योग्य हुने किसानहरूले बताएका छन् । गोलिया व्यवसायीले किसानको बारीबाटै किनेर प्रक्रिया अनुसार निकासी गर्ने गरेका छन् । 
जिल्लामा निजी आवादीमा रहेको चिराइतो मजिटो लगायतका जडिबुट्टी समेत उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७३।७४ मा ३४ हजार दुई सय ६९ केजी जडिबुट्टी निकासी भएको पाइएको छ । 
जिल्ला वन पैदावार आपुर्ति समिति मार्फत सालको गोलिया नौ हजार ६ सय २७ क्युविक फिट बिक्री वितरण भएको जिल्ला वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै सामुदायिक वन विकासतर्फ सालको काठ समूहमा १३ हजार चार सय १६ र अन्य जातको एक हजार पाँच सय ५४ क्युविक फिट बिक्री वितरण भएको छ । उक्त वर्षमा समूहबाहिर सालको ६० हजार ६ सय ७८ क्युविक फिट र अन्य जात ११ हजार सात सय २१ क्युविक फिट बिक्री वितरण भएको पाइएको छ ।

प्रतिकृया दिनुहोस