• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:14:28

इलाममा बंगुरको मासु कारोबार छ करोड बराबर

भगीरथ भण्डारी
इलाम, ६ असार : इलाममा वार्षिक पाँच करोड ७५ लाख १२ हजार रुपैयाँ बराबरको बङ्गुरको मासुको कारोबार हुने गरेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको अभिलेखअनुसार इलाममा वार्षिक उक्त अंकको कारोबार हुने गरेको हो । प्रतिकिलो ३५० रुपैयाँको दरले बर्षभरिमा एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको कार्यालयको तथ्याङ्क छ । 
उक्त मासु इलामका विभिन्न बजार र अन्य क्षेत्रमा रहेका पशु सेवा कार्यालयमा दर्ता भएका मासु पसलबाट खरिद बिक्री गरिएको मात्र हो । पशु सेवा कार्यालयका अनुसार इलाममा बङ्गुर मासु पसल २८ वटा दर्ता भएका छन् । ती मासु पसलबाट साप्ताहिक रुपमा लाग्ने बजार वा हाटमा बङ्गुर काटेर मासु बिक्री हुने गरेको हो ।
पशु कार्यालयकै तथ्याङ्क अनुसार इलाममा वार्षिक दुई हजार दुई सय मेट्रिक टनको हाराहारीमा बङ्गुरको मासु उत्पादन हुने गरेको छ । गत वर्ष दुई हजार एकसय ८४ र अघिल्लो वर्ष दुई हजार एकसय ९९ मेट्रिक टन मासु इलाममा उत्पादन भएको थियो ।
यसरी उत्पादित मासु इलाममै रहेका बङ्गुर फार्म तथा घरायसी बङ्गुरपालनबाट उत्पादित बङ्गुरको रहेको पनि कार्यालयको तथ्याङ्कले देखाएको छ । इलाममा जम्मा ८० वटा बङ्गुर फार्म दर्ता भएर सञ्चालनमा रहेको कार्यालयको अभिलेख छ । ती फार्ममा कम्तिमा १० देखि बढीमा सयवटासम्म बङ्गुर पालन गरिएको देखाइएको छ । ती फार्मबाट वार्षिक जम्मा ९३ हजार वटा भन्दा बढी बङ्गुर उत्पादन हुँदै आएका छन् । गत वर्ष इलाममा ९३ हजार १९० वटा र अघिल्लो वर्ष ९३ हजार ४०० वटा बङ्गुर उत्पादन भएका छन् ।
उत्पादित बङ्गुरमध्ये स्थानीय र उन्नत जातका रहेका छन् । इलाममा उन्नत जातका भन्दा बढी स्थानीय जातका बङ्गुर नै बढी पालन हुने गरेको छ । गत वर्ष स्थानीय जातका ५६ हजार ८६० वटा र उन्नत जातका ३६ हजार ३३० वटा बङ्गुर उत्पादन भएको पाइएको छ ।
 

प्रतिकृया दिनुहोस