• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:36:01

इँटा उद्योगबाट वार्षिक पाँच लाख आम्दानी

पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ एकतप्पाका वडाध्यक्ष डिकबहादुर थापाले इँटा उद्योगबाट वार्षिक पाँच लाख आम्दानी गर्ने गरेका छन् । जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिकामा तीन वर्षदेखि निरन्तर इँटा उद्योग स्थापना गरी उनले मनग्ये आम्दानी गर्दै आएका हुन् ।

उनले डिआर इँटा उद्योग स्थापना गरी नियमित रूपमा इँटा बनाउँदै ग्रामीण क्षेत्रमा बिक्री गर्दै आएका छन् । उत्पादित इँटा फाकफोक, लुम्दे, एकतप्पा, फूएतप्पा, आमचोक, देउराली, राँके, मङ्गलवारे, चमैता, गजुरमुखीलगायतका गाउँमा खपत हुँदै आएको छ ।

१० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगबाट वार्षिक तीन लाख तयारी इँटा उत्पादन हुने गरेको वडाध्यक्ष थापाले बताए । स्थानीयस्तरमै निर्मित इँटा झापाबाट आउनेभन्दा तुलनात्मक रूपमा सस्तो पर्छ । उनले भने ‘तराईबाट ल्याएको इँटाभन्दा यहाँ तुलनात्मक रूपमा सस्तो पर्नाले बनाए जति सबै बिक्री हुन्छ ।’

उत्पादन भएको इँटा प्रतिगोटा १३ रूपैयाँ पर्छ । अहिले झापाबाट ल्याउने इँटा प्रतिगोटा २६ रूपैयाँ पर्दछ । गुणस्तरीय र सस्तो भएकाले यहाँको इँटा सबै खपत हुने थापा बताउछन् । यतिबेला इँटा उत्पादन गर्ने उपयुक्त मौसम हो ।

असोजदेखि बैशाखसम्म निरन्तर उत्पादन गरिन्छ । आठ महिनामा चार पटक इँटा उत्पादन गरिँदै आएको छ । एक पटकमा भट्टीबाट ५० हजार इँटा तयार हुन्छ । भट्टीमा दाउरा र कोइला दुवैको प्रयोग हुन्छ । ‘कोइला, दाउरा, मजदुर र अन्य खर्च कटाउँदा वर्षमा पाँच लाख आम्दानी हुन्छ,’ थापाले भने ।

चिम्ट्याइलो, लिसाइलो माटोबाट तयार गरिंदै आएको इँटाका लागि बालुवा पनि स्थानीयस्तरबाटै जुटाउने गरिएको उनले बताए । उद्योगमा चाहिने कच्चा पदार्थ कोइला प्रतिकिलो ३० रूपैयाँ पर्ने गरेको छ । उद्योगमा स्थानीय क्षेत्रका ३० जनालाई रोजगारी मिलेको छ । ‘उद्योगमै काम गरेर मासिक १५ हजारदेखि २० हजार कमाउँदै आएको छु’, तीन वर्षदेखि उद्योगमा काम गर्दै आएका जर्मन राईले भने, ‘ईंटा उद्योगले गाउँका धेरैको रोजगारीको राम्रो माध्यम बनेको छ ।’ यहाँ निर्मित इँटा शौचालय, बाथरूम, घर बनाउन प्रयोग हुँदै आएको छ ।

सुरूमा सात लाख रूपैयाँ लगानी गरेर सुरू गरिएको इँटा उद्योग अहिलेसम्ममा १५ लाख भन्दा बढी आम्दानी भईसकेको बताउँछन् । समाजसेवामासमेत अग्रसर हुने गरेका थापाले इँटाकै आम्दानीबाट स्थानीय जानकी माध्यमिक विद्यालय परिसरमा दुई लाख ७० हजारको लागतमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गरेका छन् । उनले आफ्ना स्वर्गीय बुबा बमप्रसाद र आमा लीलामायाको स्मृतिमा मन्दिर निर्माण गरेको बताए । उनले विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री समेत वितरण गरेका छन् ।

प्रतिकृया दिनुहोस