• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:33:35

सामाजिक सञ्जालको प्रयोग बारे बहस हुन जरुरी छ

रोमन आचार्य 

कोठामा हामी चार जना साथीहरु बस्छौं । चारै जना सामाजिक सञ्जालमा यति सक्रिय छौं कि हामी जहिल्यै सुत्दा रातको १ वा २ बज्छ । चारै जना फेसवुक , भाइवर , वाड्स एप र ट्वीटरमा सक्रिय छौं । नढाटी यहाँ उल्लेख गर्नुपर्दा यसले हाम्रो पढाई र हाम्रा अन्य कृयाकलापमा प्रत्यक्ष / अप्रत्यक्ष धेरै नै असर पारेको छ । 

एउटा मलाई प्रभाव पारेको घटना यहाँ उल्लेख गरौं । आज भन्दा केहि महिना अगाडि हामी धुलाबारीबाट विराटनगर सम्मको यात्रामा थियौं । म लगायत केहि साथिहरु एउटा तालिमकालागि विराटनगर जादै थियौ । माघे सङ्क्रान्तिको दिन थियो , पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइखोलामा लागेको माइ मेलाका कारण यातायातको जाममा दुई घण्टा परियो । गाडी जसोतसो त्यो भीड छिचोलेर अघि बढ्यो, केही अगाडि गएर धेरै मानिसहरु गाडीमा चढे ।

झिलझिले नेर हो क्यारे, एकजना केटीले बढो सानका साथ भनिन, ‘म राति दुई बजेसम्म अनलाइन बस्छु ।’ म छक्क परेँ, पछाडि फर्किएर हेरेँ । कालोवर्णको १५/१६ वर्षको उमेरको हुनुपर्छ । छेउमा बसेको एक केटालाई भन्दै थिइन् । उनले भनेको त्यो कुराले होइन, उनले देखाएको रवाफले म छक्क परेँ । ‘ममी बाबाले कराउँदै गर्छन, बाल ! नदिई अनलाइन बस्ने हो । पागल तिमीसँग नि बोल्ने हो फेसबुकमै, अरु तीनजना केटासँग लभ परेको छ, कहिलेकाँही ब्यालेन्स पनि हाल्दिन्छन् । मोज छ ।’ त्यही केटीले भन्दै थिइन् । म र इलामका साथी सोम सुनुवार छक्क परयौं ।  साथमा गणेश अर्याल र भगिरथ भण्डारी पनि उनीहरुलाई हेर्दै थिए । हामीले मुखामुख गर्‍यौँ । उनीहरुको कुरा सुन्दै हाम्रो यात्रा अघि बढ्यो ।

राजवंशी समुदायको केटी हुनुपर्छ र केटो पनि त्यही समुदायको । केटो भन्दै थियो म पसलमा काम गर्छु भनेर । केटी कक्षा ८ मा पढ्छु भन्दै थिइन् । बाटाभरि उनीहरुले फेसबुकको मात्र कुरा गरे । सबै यात्रुका ध्यान खिच्यो । हामीले उनीहरुको गफ सुन्न बाहेक अरु केही कुरा गरेनौँ । बाटाभरि मेरो दिमागभित्र विचारले द्वन्द्व गरिरह्यो । आफैले आफैँलाई प्रश्न गरे, हामीले प्रयोग गर्ने सामाजिक सञ्जालको महत्व के र कति ?

यो प्रसंग मैले यहाँ उल्लेख गर्नुको कारण चाहिँ सुचना र प्रविधिले मारेको फड्कोको आभाष गराउन हो । सुचना÷प्रविधिले फड्को मारिरहदा प्रविधिको प्रयोग गरेर सञ्चालित हुने सामाजिक सञ्जालहरुले पनि समाजिक गतिविधिहरुमा प्रभाव पारिरहेको छ भन्न हो । 

माथि मैले उल्लेख गरेको प्रसङ्ग गाडीमा मात्र होइन, समाजका हरेक व्यक्ति तथा समुदायसँग मेल खान्छ । सामाजिक सञ्जाल अर्थात् फेसबुकमा नजोडिने मानिसहरु आजको समयमा सायदै कमै होलान् । युवा पुस्ताको त कुरै छाडौँ । भर्खर जन्मेका नानीहरुको नाममा पनि उसका अभिभावकले फेसबुुक एकाउन्ट खोलिदिएका छन् । उदाहरणका लागि धेरै पर पुग्दिन म । मेरै आफन्त ६० वर्षीया हजुरआमाले पनि फेसबुकमा आफ्नो उपस्थिति दर्शाउनु भएको छ भने केही समय अगाडि मेरै साथीको नानीलाई पनि म स्वयंमले  फेसबुकमा साथी बनाएको छु । यो सबै देखेर ४० कटिसक्नु भएकी मेरी आमाको पनि म आफैँले फेसबुक एकाउन्ट खोलिदिएको छु ।

आज भोली जब म घरमा फोन गर्छु मेरी ‘मामु’ भन्नु हुन्छ , जमाना सुचना/प्रविधीको छ । अलिक मिहेनत गर्नु । त्यही प्रविधीको जमानै भएर मैले उहाँलाई फेसवुकको दुनियाँमा प्रवेश गराएको हुँ । तर, चलाउन चाहिँ त्यती भाका पुर्‍याउनु हुँदैन । 

एक दिन अफिसबाट घर फिर्दै थिएँ । बाबाको फोन आयो । रिसिभ गरे । भन्नुभयो–‘‘छोरा मेरो मोबाइल बिग्रियो। दशैमा घर आउँदा आमाको जस्तै ठुलो मोबाइल ल्याइदे हैं ।’’ मैले हुन्छ भने। 

पेशाले किसान । मेरो बाबालाई आफ्नो नाम लेख्न र साधारण नेपाली पढ्न मात्र आउँछ । उमेरमा उहाँ ५० पार गरिसक्नु भएको छ । मेरी आमाको अवस्था पनि त्यही हो । उमेरले ४० कट्नुभयो । तर, दुवैलाई अब साधारण मोवाइल हैन ‘फो जि’ र ‘वाइफाइ’ चल्ने मोवाइल चाहिन थालेको छ । 

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय सामाजिक सञ्जाल फेसबुक मात्र नभएर टुइटर, भाइवर, ह्वाडस्प, इमोलगायतका सामाजिक सञ्जालले समाजलाई कस्तो प्रभाव पारेको छ ? त्यसको भने लेखाजोखा हामीसँग छैन । सामाजिक सञ्जालले वर्षौ पहिले छुटेका साथीलाई पनि पुनः मित्रताको बन्धनमा ल्याएको छ, धेरै परोपकारी मनहरु जोडिएर सामाजिक क्षेत्रमा रचनात्मक कार्यहरु गरेका छन, मानिसहरुले सूचना सङ्कलन केन्द्र बनाएका छन् । आफ्नो भावनाहरु पोख्ने माध्यम बनाएका छन, देश विदेशमा म्यासेन्जर र भिडियो तथा च्याटमा बोल्न पाएका छन् । यही सामाजिक सञ्जालकै माध्यमबाट नेता उनीहरुका कार्यकर्ता र राजनीतिक दलका प्रतिनिधिहरु जनआक्रोस पनि सहनुु परेको छ ।

हामीले सामाजिक सञ्जालको फाइदाको कुरा गरिरहँदा यसले निम्त्याएका जटिल प्रकारका समस्यालाई भने नजरअन्दाज बिल्कुलै गर्न मिल्दैन । एउटा प्रसङ्ग जोडौँ, मेरो एक जना साथी गाउँकै साथी तथा नातेदारको बहिनीले फेसबुकबाटै विवाह गरिन् । सुरुमा सामान्य च्याटमा बोल्दै जाँदा देखादेख नभई माया प्रेम बस्यो । एक अर्का बिना बाँच्नै नसक्ने भएपछि कुनै उपाय लाग्दैन भन्ने बुझेछन् क्यार , उनीहरुले भागेर बिहे गरे । बिहेमा हाम्रो सहमति नभएपछि उनीहरुलाई भाग्नुकै विकल्प उत्तम लागेछ । त्यो सम्बन्ध लामो समय टिक्न सकेन । त्यसको करिब डेढ वर्षपछि झगडा सुरु भयो । र अन्त्यमा अदालत हुँदै सम्बन्ध बिच्छेद नै भयो ।

मैले फेसबुकले गराएको बिहे टिक्दैन भन्न खोजेको होइन । समाजमा धेरै ठाउँमा राम्रा भएका उदाहरण पनि छन् । तर, अहिलेसम्म मैले सुनेको, देखेको र जानेको मध्ये सयमा दश प्रतिशतको मात्र सम्बन्ध राम्रो भएको छ । बाँकी नब्बे प्रतिशतमा कोही अदालत धाउँदै छन , कसैले अलग बाटो रोजेर एक्लै जीवन जिउँदैछन् त कसैले दोश्रो, तेस्रो विवाह समेत गरिसकेका छन् ।

विश्वमा सामाजिक सञ्जालको इतिहास जे जस्तो भएता पनि नेपालमा यसले बजार लिएको धेरै समय भएको छैन । सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमबाट नेपालमै मानिसले धेरै काम अनलाइन सिस्टमबाटै सुरु गरेका छन् । हामीकहाँ अनलाइन सपिङ, सरकारी कार्यालयमा अनलाइन सेवा , अनलाइनबाटै बिल पेमेन्ट लगायतका अन्य धेरै कुराहरुको सफल अभ्यास र सञ्चालन भइरहेको अवस्था छ । तर, यसले गर्दा समाजमा धेरै चुनौती भने अवश्य थपिएको छ । विशेष गरेर पुराना पद्धतिका सञ्चार माध्यमलाई पनि अनलाइन सञ्चार माध्यमले जितिसकेका छन् । 

मानिसहरु फेसबुकमा जतिछिटो सूचना आयो, त्यसलाई प्रभावकारी मान्छन् । अब प्रविधिमैत्री पत्रकारिता पनि सुरु भइसकेको छ । तर, देशका शक्ति युवा भने सामाजिक सञ्जाल भनेर फेसबुकलाई बुझ्ने र फेसबुकलाई सही तरिकाले प्रयोग नगर्दा अथाह सूचनाको सागरबाट प्यासी भएर दिनदिनै गलत कुराको सिकार भइरहेका यथार्थ हामीमाझ छ ।

मसँगै पढ्ने अनि फरक क्षेत्रमा संलग्न भएका साथीले पनि सामाजिक सञ्जाललाई सही तरिकाले प्रयोग गरेको म पाउँदिन । मसँगै काम गर्ने मेरा पूर्व सहकर्मी भाई अमृत पनि फेसबुक चलाउन माहिर थियो । धेरै चलाएको देखेर मलाई वाक्क लागेर धेरै पटक सम्झाएँ पनि ,तर उसको फेसबुकमा के मोह थियो एक वर्षसँगै बस्दा मैले कहिल्यै जानिन । कारण के हो भाई नै जानोस् । तर भाई १ बजे अगाडि सुतेन मैले कहिल्यै थाहा पाइन । 

जसरी विदेशीसँग, सूचनासँग, आफन्त र साथीभाइसँग यी सामाजिक सञ्जालले नजिक बनाएको छ, त्यसरी नै विकृति पनि मौलाएको छ । घरपरिवारमा श्रीमान श्रीमती, छोराछोरी भएका महिला तथा पुरुष पनि पर महिला तथा पुरुषसँग नजिकिएका छन् । वैदेशिक रोजगारी फस्टाएको हाम्रो देशमा श्रीमान विदेश गएका श्रीमती तथा श्रीमती विदेश गएका श्रीमानहरु अरुसँग लागेको प्रशस्त उदाहरणहरु हामीमाझ छन् । बेलाबेला फलानाको श्रीमानले अर्को ल्यायो रे ! फलानोकी श्रीमती पोइला गई रे ! हुँदाहुँदा कहिले त पत्रिकाको मुख्य समाचारमा यति लाख बोकेर श्रीमती पोइला गई भनेर छापिएका घटनाहरु पनि हामीले सुन्न र पढ्न नपाएका भने होइनौँ ।

यो लेखमा मैले नराम्रो कार्यको बारेमा चर्चा मात्र गरेर हुँदैन । राम्रा कामका पनि उदाहरण छन् । झापामा मनकारी साथीहरु मिलेर फेसबुकमा बनेको ग्रुप नेप्लीज टिन्स, हेल्पिङ हेण्ड्स, क्रिएटिभ नेप्लीज युथ, सामाजिक युवा समाजलगायत अन्य धेरै संस्थाले सामाजिक कार्यमा उदाहरणीय कार्य पनि गरिरहेका छन् । उनीहरुले समाज सुधारका लागि एकजुट भएर रचनात्मक कार्य पनि गरिरहेका छन् । पैसा नभएर अस्पतालका वेडमा भर्ना भएकाहरुलाई अभियान चलाएर पैसा तिरिदिएका छन् । विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गरेर रगत संकलन गरिरहेका छन् ।  तर, मैले माथि लेखेका उदाहरण जस्तै धेरै युवायुवति रातभर अनलाइन बस्ने, इन्टरनेटमा अनावश्यक पैसा खर्च गर्ने, आफ्नो पढाइलाई असर गर्ने गरी सामाजिक सञ्जालको प्रयोग गर्ने समस्या भने समाजमा दिन प्रतिदिन तीतो यथार्थ बनेर रहेको छ ।

अर्को प्रसङ्ग पनि जोडौँ, मेरो एकजना बुढामावली तिरकी दिदी हुनुहुन्छ । उहाँको फेसबुक एकाउन्ट चारवटा छन् । कहिले कुनबाट कहिले कुनबाट म्यासेज आउँछ । आज एउटा नाम गरेकोबाट म्यासेज आउँछ भने भोलि अर्कै, पर्सी अर्को नाम गरेर म्यासेज आउँछ । यो अवस्था निरन्तर तीन महिनासम्म चल्यो । मैले भेटेको समयमा सोधेँ, ‘किन यसो गर्नु भएको भनेर ।’ उहाँले हाँस्दै जवाफ दिनु भयो, ‘एउटा आइडीमा बाबा, अर्कोमा मामा अनि अर्कोमा चाहिँ आफुलाई पढाउने सरहरु साथी हुनुहुन्छ । त्यही आइडीमा धेरै अनलाइन बस्यो भने उहाँहरुको गाली खानुपर्छ । अनि एउटा चाहिँ अलिक सेकरेट आइडी हो । त्यसमा तिम्रो भिनाजु पनि हुनुहुन्छ, पासवर्ड शेयर छ के मिलाएर बुझ न !’ यो जवाफ आयो म तीन छक्क परेँ ।

झापामा काम गर्दाका सहकर्मी सर  ज्ञानेन्द्र निरौला बारम्बार भन्ने गर्नुहुन्थ्यो, सम्झाउनु हुन्थ्यो । फेसबुक एउटा माध्यम हो भनेर । तिमी जहाँ जान्छौ, धेरै नसके पनि त्यहाँको चिनारी दिने एउटा फोटो क्याप्सनमा त्यसको बारेमा थोरै जानकारी लेखेर हाल्यो भने त्यसको बारेमा धेरैलाई जानकारी हुन्छ । कहिलेकाँही मनमनै आफै कुरा गर्छु । सबैले त्यसो गरिदिए हामी पत्रकारहरुलाई पनि त्यो विषयमा उजागर गर्न सहज हुने थियो ।

मैले यहाँ प्रसङ्ग निकालेर सामाजिक सञ्जाल नराम्रो भन्न खोजेको होइन र यसको विरोध गर्न खोजेको पनि होइन । तर, यसको सदुपयोग गर्नुपर्छ भन्न मात्र खोजेको हो । मनोरञ्जन गर्नुपर्छ र फेसबुकलाई मनोरञ्जनात्मक र व्यक्तिगत पनि बनाउनु पर्दछ । तर, तपाई कस्तो मान्छे हो ? तपाई के गर्न चाहनुहुन्छ, कुन बाटो हिँड्दै हुनुहुन्छ भन्ने कुरा मापन तपाईंले फेसबुकको वालमा पोस्ट्याउनु भएको कुराले पनि आफ्नो व्यक्तित्व झल्काइरहेको हुन्छ ।

त्यसकारण जसरी चिया पसल, चौतारो, बौद्धिक मानिसहरुको जमघट, मेलापात लगायतका अन्य स्थानमा भेटेर गफ गर्दा सञ्चो बिसञ्चो, घरपरिवार, राजनीतिक विषय लगायतका अन्य विषयहरुमा कुरा हुन्छ, त्यसरी नै मेरा सन्तानले फेसबुक कतिको चलाउँदै छन् ? अनि यसले उनीहरुमा सकारात्मक वा नकारात्मक के असर पार्यो ? त्यसको बारेमा अभिभावकहरु बीच चर्चा हुनु जरुरी छ । त्यस्तै, जति पनि फेसबुक प्रयोगकर्ता हुनुहुन्छ, उहाँहरु स्वयम्ले पनि मैले यसबाट के फाइदा लिँदैछु भनेर फाइदा र घाटाबीच तुलना गर्न जरुरी छ । मानिस विग्रन समय लाग्दैन । तपाईं र तपाईंका सन्तानले सामाजिक सञ्जालहरुमा गर्ने साना–साना गल्तिले तपाईं र तपाईंको परिवार मात्र होइन, समाजलाई नै नराम्रो असर पर्छ । त्यसकारण सामाजिक सञ्जालको प्रयोग बारे बहस तथा छलफल हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस